२०८३ असार ११ गते, बिहीबार २१:३०

विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शनीमा, लगानीकर्ता र स्टार्टअप अवसरसँग जोड्ने लक्ष्य

काठमाडौँ –

विद्यार्थीले निर्माण गरेका कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, साइबर सुरक्षा, सफ्टवेयर र डिजिटल इनोभेसनसम्बन्धी परियोजनाको प्रदर्शनी काठमाडौँमा सुरु भएको छ ।

अमेरिकी वेस्टक्लिफ युनिभर्सिटीसँगको सम्बन्धनमा सञ्चालित प्रेसिडेन्सियल ग्राजुएट स्कुलले आयोजना गरेको ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०, २०२६’ मा विद्यार्थीका ५५ भन्दा बढी परियोजना प्रदर्शनमा राखिएका छन् ।

असार ११ र १२ गतेसम्म सञ्चालन हुने टेक तथा बिजनेस कार्निभलमा करिब १७० विद्यार्थी संलग्न परियोजनाहरू प्रदर्शनीमा राखिएको कलेजले जनाएको छ । कार्यक्रमको उद्देश्य विद्यार्थीहरूको नवप्रवर्तन, डिजिटल रचनात्मकता र भविष्यका सीपलाई उजागर गर्दै उनीहरूलाई उद्योग, लगानीकर्ता र स्टार्टअप अवसरसँग जोड्नु रहेको छ ।

यस वर्षको इन्नोभिस्टा पाँच प्रमुख प्राविधिक क्षेत्रमा केन्द्रित छ । कम्प्युटर भिजन तथा कृत्रिम बुद्धिमत्ता, आइओटी तथा रोबोटिक्स, साइबर भिलेज, सफ्टवेयर र टेक्नोभर्सिटी गरी विभिन्न विधामा विद्यार्थीले तयार पारेका परियोजना प्रदर्शनीमा राखिएका छन् ।

प्रदर्शनीका आकर्षक परियोजनामा पुष्प वृष्टि गराउने एफपीभी ड्रोन, रोबो सकर्स अर्थात् फुटबल खेल्ने रोबोट, गीतमा नाच्ने डान्सिङ रोबोट, एआईमार्फत अनुहारको भाव पत्ता लगाई संगीत सिफारिस गर्ने इमोसन डिटेक्सन सिस्टमलगायत छन् । त्यस्तै, अनलाइन ठगी, डाटा लिक र बैंक खाताको सुरक्षासँग सम्बन्धित साइबर सुरक्षाका परियोजना पनि प्रदर्शनीमा राखिएका छन् ।

स्मार्ट सिँचाइ प्रणाली, ग्यास लिक हुँदा स्वचालित अलार्म र कट प्रणालीसहितको स्मार्ट होम सिस्टम, पर्यटन प्रवद्र्धन गर्ने सफ्टवेयर तथा ३६० डिग्री क्यामेराबाट रिमोटमार्फत नियन्त्रण गर्न सकिने गाडी पनि कार्यक्रममा प्रदर्शन गरिएको छ । यी परियोजनाले प्रविधिको प्रयोगलाई दैनिक जीवन, सुरक्षा, कृषि, पर्यटन र व्यवसायसँग जोड्ने प्रयास गरेको आयोजकले जनाएको छ ।

प्रेसिडेन्सियल ग्राजुएट स्कुलका संस्थापक एवम् अध्यक्ष लक्ष्मण केसीका अनुसार विद्यार्थीले तयार गरेका परियोजना केवल प्रदर्शनीका लागि मात्र नभई बजार र व्यावसायिक सम्भावनासँग पनि जोडिएका छन् । ‘नेपालमा पनि यस्ता नवप्रवर्तन सम्भव छन् भन्ने सन्देश दिनु हाम्रो उद्देश्य हो,’ केसीले भने, ‘यी परियोजनाहरू विद्यार्थीहरूले स्क्र्याचबाट बनाएका हुन् । अब यस्ता परियोजनालाई उद्योग, लगानीकर्ता र बजारसँग जोड्ने काममा हामी केन्द्रित हुनेछौँ ।’

उनका अनुसार स्कुलको बिजनेस इन्क्युबेसन सेन्टरमार्फत सम्भावना बोकेका परियोजनालाई व्यावसायिक रूपमा अघि बढाउन सहयोग गरिनेछ । आईटी र बिजनेस अध्ययन गरिरहेका विद्यार्थीबीचको सहकार्यबाट परियोजनालाई बजार, लगानी र स्टार्टअपका लागि तयार पारिने कलेजको योजना छ ।

कार्यक्रममा भर्खर प्लस टु सकेका विभिन्न कलेजका ३४ भन्दा बढी विद्यार्थीले पनि टेक्नोभर्सिटी प्याभिलियनमा आफ्नो इनोभेसन प्रदर्शनी गर्नेछन् । उनीहरूले एक सातासम्म प्रेसिडेन्सियल ग्राजुएट स्कुलका विद्यार्थीहरूको मेन्टरसीपमा परियोजना तयार पारेका हुन् । यस विधाका विजेतालाई एक लाख रुपैयाँसम्मको पुरस्कार प्रदान गरिने कलेजले जनाएको छ ।

यो कार्यक्रम प्लस टु उत्तीर्ण विद्यार्थी, स्नातक तहका विद्यार्थी, आईटीमा रुचि राख्ने युवा, उद्योगी, लगानीकर्ता तथा प्रविधि क्षेत्रमा भविष्य खोजिरहेका सहभागीका लागि लक्षित छ । प्राविधिक सिकाइ, नेटवर्किङ र भविष्यको शिक्षाको झलक दिने यो प्रदर्शनीमा प्रवेश निःशुल्क गरिएको छ ।

प्रेसिडेन्सियल ग्राजुएट स्कुलका निर्देशक तथा प्रिन्सिपल कल्पना गुरुङले इन्नोभिस्टा विद्यार्थीको सिर्जनशीलता प्रदर्शन गर्ने मात्र नभई उनीहरूलाई भविष्यका अवसरसँग जोड्ने प्लेटफर्म भएको बताइन् ।

उनका अनुसार वेस्टक्लिफ युनिभर्सिटीसँगको सहकार्य, क्रेडिट ट्रान्सफर सुविधा, स्किल अप डिपार्टमेन्ट र उद्योगसँगको समन्वयमार्फत विद्यार्थीलाई अन्तर्राष्ट्रिय शैक्षिक अवसर, रोजगारी र उद्यमशीलताका लागि तयार पार्ने लक्ष्य राखिएको छ ।

‘यो इभेन्ट हरेक वर्ष आयोजना गरिनेछ । उद्योगी र लगानीकर्तालाई आमन्त्रण गरेर विद्यार्थीलाई रोजगारी र स्टार्टअप अवसरसँग जोड्ने हाम्रो उद्देश्य हो,’ गुरुङले भनिन्, ‘यसले नेपालमा सूचना प्रविधि र व्यवसायका क्षेत्रमा नयाँ सम्भावना उजागर गर्दै भविष्यका नवप्रवर्तकलाई थप प्रेरित गर्ने विश्वास लिएका छौँ ।’

हाल प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा करिब १४ सय विद्यार्थी अध्ययनरत छन् । स्कुलमा ९० भन्दा बढी प्राध्यापक र ४५ भन्दा बढी व्यवस्थापन कर्मचारी कार्यरत रहेको कलेजले जनाएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस