वीरगन्ज-
तराई–मधेश क्षेत्रमा मनसुनी गतिविधि विस्तारै सक्रिय हुन थाले पनि अत्यधिक गर्मीबाट भने अझै पूर्ण राहत मिल्न सकेको छैन। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मधेश प्रदेशभर मनसुनी वायुको प्रभाव रहेकाले दिनभर आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।
विभागका अनुसार आज मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। यस्तै कोशी प्रदेशको तराई तथा बागमती र गण्डकी प्रदेशका तराईका एक-दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
यद्यपि वर्षाको सम्भावना रहे पनि तराईका अधिकांश क्षेत्रमा उमस र गर्मी कायमै रहने मौसमविद्को भनाइ छ। विशेषगरी पश्चिम तराईका लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा तातो लहर (हिटवेभ) को अवस्था जारी रहने अनुमान गरिएको छ।
रातिको समयमा पनि मधेश प्रदेशमा सामान्य बदली रहने तथा प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।
यसबीच देशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा भने मेघगर्जनसहित वर्षा र उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।
मौसमविद्ले मधेशका बासिन्दालाई चट्याङको जोखिम भएका बेला खुला स्थानमा नबस्न, आवश्यक सावधानी अपनाउन तथा गर्मी र उमसबाट बच्न प्रशस्त पानी पिउन र अनावश्यक रूपमा दिउँसोको समयमा बाहिर ननिस्कन आग्रह गरेका छन्।












