२०८३ असार १२ गते, शुक्रबार २२:१७

नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ सम्पन्न

वीरगन्ज

नेशनल मेडिकल कलेज, वीरगन्जको आयोजना तथा चिकित्सा शिक्षा विभाग, इन्स्टिच्युट अफ मेडिसिन (आईओएम), काठमाडौंको सहकार्यमा सञ्चालित ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (एफडीटी) कार्यक्रम शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ । चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि तथा प्राध्यापकहरूको शिक्षण क्षमता विकास गर्ने उद्देश्यका साथ गत असार ७ गतेदेखि सुरु भएको तालिम आज समापन भएको हो ।

कलेजको आईबिएमएस ब्लकस्थित कन्फरेन्स हलमा आयोजित समापन समारोह नेशनल मेडिकल कलेजका प्रिन्सिपल प्रा. डा. के.एन. सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि कलेजका अध्यक्ष प्रा. डा. जैनुद्दीन अन्सारी रहनुभएको थियो भने इन्स्टिच्युट अफ मेडिसिनका प्रा. डा. निर्जु रञ्जित, प्रा. डा. संघरत्न बज्राचार्य र प्रा. डा. रमेश आचार्य अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

समारोहमा कलेजका अस्पताल निर्देशक डा. इशरत जहान, एडमिसन तथा मार्केटिङ निर्देशक अबिद हुसेन अन्सारी, उप-प्राचार्य डा. रविशंकर गुप्ता र नेशनल मेडिकल कलेज नर्सिङ क्याम्पसकी उप-प्राचार्य प्रा. डा. बबिता सिंह लगायतको विशेष उपस्थिति रहेको थियो ।

समापन समारोहमा बोल्दै वक्ताहरूले यस प्रकारको फ्याकल्टी डेभलपमेन्ट कार्यक्रमले चिकित्सा शिक्षामा आधुनिक शिक्षण पद्धति, प्रभावकारी विद्यार्थी मूल्याङ्कन, अनुसन्धान प्रवर्द्धन तथा व्यावसायिक दक्षता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

प्रमुख अतिथि प्रा. डा. जैनुद्दीन अन्सारीले संस्थाले शैक्षिक उत्कृष्टता कायम राख्न यस्ता क्षमता अभिवृद्धिका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै सहभागी प्रशिक्षार्थी तथा प्रशिक्षकहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

तालिममा सहभागीहरूको तर्फबाट अनुभव तथा सिकाइ प्रस्तुत गरिएको उक्त कार्यक्रममा सफलतापूर्वक तालिम सम्पन्न गरेका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । ६ दिनसम्म चलेको उक्त तालिममा चिकित्सा शिक्षासँग सम्बन्धित विभिन्न प्राविधिक विषयहरूमा विशेषज्ञ प्रशिक्षकहरूले सहजीकरण गरेका थिए । कार्यक्रमको अन्त्यमा कलेजका उप-प्राचार्य डा. रविशंकर गुप्ताले धन्यवाद ज्ञापन गर्दै समापनको घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस