२०८३ असार १३ गते, शनिबार १२:१३

तराई-मधेशमा मनसुन सक्रिय, आज मेघगर्जनसहित वर्षाको सम्भावना

वीरगन्ज

तराई-मधेश क्षेत्रमा मनसुनको प्रभाव क्रमशः सक्रिय बन्दै गएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भूभागमा मनसुन सक्रिय रहेको छ भने यसले तराई-मधेशका अधिकांश जिल्लामा मौसममा परिवर्तन ल्याएको छ। आगामी चारदेखि पाँच दिनभित्र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा समेत मनसुन फैलिने सम्भावना रहेको महाशाखाले जनाएको छ।

हाल देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहे पनि तराई क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, कोशी प्रदेशको तराई, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक-दुई क्षेत्रमा पनि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। यसैबीच कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भेगका एक-दुई स्थानमा पनि मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ।

तराईका बासिन्दाका लागि अर्को महत्वपूर्ण सूचना पनि मौसमविद्ले दिएका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही क्षेत्रमा तातो हावा (लु) चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति पनि मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। रातिको समयमा पनि मधेश प्रदेशका केही स्थान, कोशी प्रदेशको तराई, बागमती र गण्डकीका तराईका केही क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैगरी ती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाले विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, डुबान तथा चट्याङबाट हुन सक्ने जोखिमप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ। मनसुन सक्रिय बन्दै जाँदा तराई-मधेशका नदी-नाला आसपासका बासिन्दा, किसान तथा यात्रुहरूले मौसमको अद्यावधिक जानकारी लिएर मात्रै दैनिक गतिविधि सञ्चालन गर्न पनि महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस