वीरगन्ज–
श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा शनिबार माईस्थान मन्दिर परिसरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। आर्थिक अभावका कारण गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित श्रद्धालु तथा सर्वसाधारणलाई लक्षित गरी शिविर आयोजना गरिएको हो।
आगामी असार ३२ गते आयोजना हुन गइरहेको ऐतिहासिक ‘गहवामाई रथयात्रा’को पूर्वसन्ध्यामा आयोजित यस शिविरको उद्घाटन वरिष्ठ चिकित्सक डा. मनोज गुप्ताले गरेका थिए। शिविरबाट वीरगन्ज तथा आसपासका क्षेत्रका ३५५ जना सर्वसाधारणले प्रत्यक्ष स्वास्थ्य सेवा तथा परामर्श लिएका छन्।
शिविरमा वरिष्ठ चिकित्सकहरूद्वारा सर्वसाधारणको आँखा, दाँत, हाडजोर्नी, कान रोगका साथै मधुमेह (सुगर) र थाइराइड सम्बन्धी विशेष परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो।
शिविर व्यवस्थापन उपसमितिका संयोजक श्याम गुप्ताका अनुसार स्वास्थ्य परीक्षणका क्रममा मोतियाबिन्दु पहिचान भएका बिरामीहरूका लागि समितिको विशेष पहलमा निःशुल्क शल्यक्रिया (अपरेशन) समेत गरिने व्यवस्था मिलाइएको छ। आर्थिक अवस्था कमजोर भएका बिरामीलाई राहत पुर्याउने उद्देश्यले समितिले प्रत्येक वर्ष यस्ता परोपकारी कार्य गर्दै आएको उनले बताए।
समितिका अध्यक्ष श्याम पोखरेल, उपाध्यक्ष देवानन्द कलवार, सचिव पप्पु गुप्ता र कोषाध्यक्ष रवि अग्रवाल सम्मिलित मूल समितिले यस स्वास्थ्य शिविरको विशेष रेखदेख र संयोजन गरेको थियो।
शिविरलाई भव्य रूपमा सम्पन्न गर्न कार्यक्रम सहसंयोजक अनुप कुमार अग्रवाल सहित उपसमितिका सदस्यहरू ओशन गुप्ता, राजन गुप्ता, ललित अग्रवाल, विवेक कुमार र मुन्ना सर्राफ लगायतको सक्रिय सहभागिता रहेको थियो।











