वीरगन्ज-
मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगन्ज महानगरपालिका आइतबार बिहानदेखि फोहोरका कारण दुर्गन्धित बनेको छ। फोहोर संकलनको जिम्मेवारी पाएका सफाइकर्मीहरू आन्दोलनमा उत्रिएर संकलित फोहोर सडकमा छर्न थालेपछि शहर दुर्गन्धित बनेको हो।
मासिक तलब ३० हजार रुपैयाँ, सातामा एक दिन बिदा तथा प्रत्येक महिनाको ५ देखि १० गतेभित्र तलब उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै सफाइकर्मीहरू बिहानैदेखि आन्दोलनमा उत्रिएका हुन्।
सफाइकर्मीहरूले अघि सारेका मागबारे छलफल गर्न वीरगन्ज महानगरपालिकामा बिहानै त्रिपक्षीय बैठक बसेको थियो।
बैठकमा वीरगन्ज महानगरभित्रको फोहोर व्यवस्थापनको ठेक्का पाएको एन.के. इन्टरनेशनल प्रा.लि. का प्रबन्ध निर्देशक शिवप्रसाद गुप्ता, वीरगन्ज महानगरपालिकाको सरसफाइ व्यवस्थापन शाखाका प्रमुख सरफुदिन मियाँ, कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको सचिवालयका प्रतिनिधि तथा सफाइकर्मीहरूको सहभागिता रहेको थियो। पहिलो चरणको बैठकबाट कुनै निष्कर्ष ननिस्किएपछि समस्या समाधानका लागि दिउँसो २ बजे पुनः बैठक बस्ने सहमति भएको छ।
कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको पहलमा समस्या समाधानका लागि पुनः वार्ता आयोजना गर्न लागिएको उनको सचिवालयले जनाएको छ।
पहिलो चरणको वार्तामा सफाइकर्मीहरूले मासिक ३० हजार रुपैयाँ तलब, सातामा एक दिन बिदा तथा प्रत्येक महिनाको ५ देखि १० गतेभित्र तलब वितरण गर्नुपर्ने माग राखेका थिए।
सफाइकर्मीहरूको मागबारे प्रबन्ध निर्देशक शिवप्रसाद गुप्ताले दैनिक ज्यालादारीमा कार्यरत सफाइकर्मीहरूको पारिश्रमिक नेपाल सरकारले तोकेको मापदण्डअनुसार उपलब्ध गराउन सकिने बताएका थिए। उनले दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकलाई सातामा एक दिन बिदा दिने कानुनी व्यवस्था नरहेको तथा सरसफाइ दैनिक सञ्चालन गर्नुपर्ने सेवा भएकाले नियमित बिदा दिन सम्भव नभएको बताए। यद्यपि, तलब भने तोकिएको मितिभित्र उपलब्ध गराउन कम्पनी तयार रहेको उनको भनाइ थियो।
प्रबन्ध निर्देशक गुप्ताको उक्त प्रस्तावप्रति असन्तुष्टि जनाउँदै सफाइकर्मीहरू वार्ताबाट बाहिरिएका थिए।
यसैबीच, आन्दोलनरत सफाइकर्मीहरूले वीरगन्जका मुख्य सडकसहित विभिन्न स्थानमा फोहोर फ्याँकेपछि सवारी आवागमन प्रभावित भएको छ। सडकमा जथाभावी फोहोर थुप्रिँदा केही स्थानमा सवारी दुर्घटनासमेत भएको जनाइएको छ।












