काठमाडौं –
ठूलो बजेटमा निर्माण भएको पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’ नेपालमा प्रदर्शनमा आएको छ । क्यापिटल वल्र्डमार्फत नेपाल भित्रिएको ‘लार्जर–द्यान–लाइफ’ अनुभव दिने यो फिल्म शनिबार बेलुकाको शोदेखि देशभर प्रदर्शन भइरहेको छ ।
फिल्ममा हिमालयको रहस्यमय गहिराइमा लुकेको भगवान् अनन्त पद्मनाभस्वामीको अमूल्य खजाना र श्रीरङ्गापुरम् मन्दिरमा रहेको ऐतिहासिक ‘ब्रह्म कमल’ (सुनौलो फूल) को रहस्यमय संसारलाई भव्य रूपमा प्रस्तुत गरिएको छ ।
अभिषेक नामाको लेखन तथा निर्देशन रहेको फिल्ममा मुख्य पात्र रुद्र (विराट कर्ण) लाई भगवान् महादेव (शिव) को शक्तिशाली र उग्र स्वरूपका रूपमा प्रस्तुत गरिएको छ । उनी आफ्नो समुदाय र धार्मिक सम्पदालाई दुष्ट शक्तिबाट जोगाउन जीवन नै दाउमा लगाएर संघर्षरत देखिन्छन् ।
फिल्ममा विराट कर्णसँगै मुख्य अभिनेत्रीका रूपमा नभा नतेश र ऐश्वर्या मेननले अभिनय गरेका छन् । साथै, फिल्ममा चर्चित कलाकारहरू महेश माञ्जरेकर, जगपति बाबु, मुरली शर्मा र ऋषभ साहनीको पनि महत्त्वपूर्ण भूमिका रहेको छ । ‘केजीएफ’ मार्फत ‘गरुडा’ पात्रबाट चर्चामा आएका रामचन्द्र राजुले फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका छन् ।
एनआईके स्टुडियो र अभिषेक पिक्चर्सको ब्यानरमा किशोर अन्नपुरेड्डी र निशिता नागिरेड्डीले निर्माण गरेको फिल्मले पौराणिक कथालाई सामाजिक, राजनीतिक तथा साम्प्रदायिक विषयसँग जोडेर प्रस्तुत गरेको छ । निर्माण पक्षका अनुसार हिन्दु धर्मप्रति आस्था राख्ने दर्शकका लागि यो फिल्म विशेष आकर्षणको केन्द्र बनेको छ ।
कस्तो छ फिल्म ?
निर्देशक अभिषेक नामाले ‘नागबन्धम’मा धर्म, आस्था र शक्तिको द्वन्द्वलाई केन्द्रमा राख्दै कथा अघि बढाएका छन् । फिल्मको सुरुआत मानिसको अमर बन्ने चाहना र निरंकुश शक्तिप्रतिको लोभबाट हुन्छ । फिल्मका मुख्य खलपात्र अब्दाली र बैरागी ‘ब्रह्म कमल’ प्राप्त गरेर परम शक्ति हासिल गर्न खोजिरहेका हुन्छन् । उनीहरूका विरुद्ध रुद्रले उक्त पवित्र सम्पदाको रक्षा गर्न आफ्नो जीवन नै समर्पित गर्छन् । सन् १७५६ को फ्ल्यासब्याकमार्फत धार्मिक समुदायमाथि भएको हिंसाको घटनाले रुद्रको संघर्षलाई थप अर्थपूर्ण बनाएको छ ।
फिल्मले सुरुआतमै पौराणिक र धार्मिक पृष्ठभूमि प्रभावकारी रूपमा स्थापित गर्छ । कथा श्रीरङ्गापुरम् मन्दिर र त्यससँग जोडिएका रहस्यतर्फ अघि बढेपछि फिल्मले थप गति लिन्छ । त्यसपछि कथा एक्सन–एड्भेन्चरतर्फ मोडिन्छ, जहाँ रुद्रले सर्प, चील र गोहीसँगको जोखिमपूर्ण संघर्ष गर्दै आफ्नो लक्ष्यतर्फ अघि बढेको देखाइन्छ ।
पार्वतीको परिवारसँग सम्बन्धित कथा र १८औँ शताब्दीको नरसंहारलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ । भिजुअल प्रस्तुति, भव्य सेट, एक्सन दृश्य र पौराणिक वातावरण सिर्जनामा निर्माण टिमले गरेको मेहनत पर्दामा स्पष्ट देखिन्छ । यही पक्ष ‘नागबन्धम’को सबैभन्दा बलियो पक्षका रूपमा उभिएको छ ।












