२०८३ असार २४ गते, बुधबार १४:१३

चन्द्रागिरी हिल्सको ९ महिनाको व्यापार साढे ४५ करोड, प्रतिकूलताका बीच व्यवसाय लयमा फर्किँदै

काठमाडौं –

चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो नौ महिनामा ४५ करोड ६० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी (व्यापार) गरेको छ ।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण कम्पनीको भौतिक संरचनामा ठूलो क्षति पुगी करिब तीन महिना केबलकार सेवा ठप्प भएता पनि कम्पनीको व्यापारिक प्रदर्शन सन्तोषजनक देखिएको छ । यसअघि आर्थिक वर्ष २०८०÷८१ मा कम्पनीको आम्दानी एक अर्ब रुपैयाँ पुगेको थियो भने २०८१÷८२ मा ९० करोड २० लाख रुपैयाँ रहेको थियो ।

संरचना पुनर्निर्माणमा समय लागेका कारण र व्यवसायमा आएको अवरोधले गर्दा चालु आर्थिक वर्षको ९ महिनामा कम्पनी ९० लाख रुपैयाँ खुद नोक्सानीमा रहेको छ । गत आर्थिक वर्ष २०८१÷८२ मा १८ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको मुनाफामा आन्दोलनपछिको अवरोधले प्रत्यक्ष असर पारेको देखिन्छ । 

केबलकार अवरुद्ध हुँदा कम्पनीको रिसोर्ट व्यवसायमा समेत नकारात्मक प्रभाव परेको छ । अघिल्लो वर्ष ३६ प्रतिशत रहेको रिसोर्टको कोठा उपयोग दर (अकुपेन्सी) यस अवधिमा घटेर २२ प्रतिशतमा झरेको छ ।

कम्पनीको वित्तीय अवस्थालाई ध्यानमा राख्दै इक्रा नेपालले चन्द्रागिरी हिल्सको जारीकर्ता रेटिङलाई आईसीआरएएनपी–आईआर बीबी प्लसमा पुनः पुष्टि गरेको छ । साथै, यसअघि राखिएको नकारात्मक प्रभावसहित निगरानीको सूचीबाट पनि कम्पनीलाई हटाइएको छ । केबलकार सञ्चालन पुनः सुचारु हुनु र ऋण भुक्तानीको तालिकासम्बन्धी व्यवस्थापन हुनुले कम्पनीको वित्तीय जोखिम कम भएको इक्रा नेपालको विश्लेषण छ । हाल कम्पनीको दीर्घकालीन ऋण सीमा २ अर्ब ४ करोड ४० लाख रुपैयाँ कायम गरिएको छ ।

कम्पनीले आफ्नो वित्तीय भार कम गर्न र ऋण घटाउनका लागि शतप्रतिशत (१ः१) हकप्रद शेयर जारी गर्ने प्रस्ताव अघि सारेको छ । यसबाट प्राप्त हुने रकम मुख्य रूपमा बैंकको ऋण भुक्तानीमा प्रयोग गरिनेछ, जसले आगामी दिनमा कम्पनीको पूँजीगत संरचनालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

सन् २००९ मा स्थापना भएको यस कम्पनीको मुख्य नेतृत्वमा आईएमई समूह आबद्ध रहेको छ । कम्पनीको सबैभन्दा ठूलो सेयरधनी हेमराज ढकाल रहेका छन् । कम्पनीमा उनको १९.२ प्रतिशत शेयर रहेको छ भने अन्य मुख्य लगानीकर्ताहरूमा चन्द्रप्रसाद ढकाल, उत्तमकुमार नेपाल, अम्बिका प्रसाद पौडेल, र भाटभटेनी सुपरमार्केट लगायत रहेका छन् । पछिल्लो समय कम्पनीले केबलकारका साथै साहसिक पर्यटन र रिसोर्ट सेवालाई विविधीकरण गर्दै आफ्नो ब्रान्ड इमेजलाई सशक्त बनाउँदै लगेको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस