२०८३ असार ३१ गते, बुधबार ११:३९

मन्त्री–मन्दिर व्यवस्थापन विवाद चर्किँदा जानकी मन्दिरको विवाह मण्डप र संग्रहालयमा ताला

जनकपुरधाम –

मधेश प्रदेश सरकार र जानकी मन्दिर व्यवस्थापनबीच टिकट शुल्कलाई लिएर उत्पन्न विवादले धार्मिक आस्थाको केन्द्र जानकी मन्दिरमै असर परेको छ। प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतो र मन्दिर व्यवस्थापनबीचको टकराव चर्किएपछि जानकी मन्दिर परिसरभित्र रहेको ऐतिहासिक विवाह मण्डप र विद्युतीय संग्रहालयमा पहिलोपटक तालाबन्दी गरिएको छ।

मन्दिर व्यवस्थापनले मन्त्री महतोले कुनै पूर्वसमन्वयबिना टिकट बिक्री गरिरहेका कर्मचारीबाट टिकट खोसेर हस्तक्षेप गरेको आरोप लगाउँदै त्यसको विरोधस्वरूप शुक्रबारदेखि दुवै संरचना बन्द गरेको जनाएको छ। तालाबन्दीपछि अवलोकनका लागि पुगेका स्वदेशी तथा विदेशी श्रद्धालु र पर्यटक निराश भएर फर्किन बाध्य भएका छन्।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवका अनुसार संग्रहालय प्रवेशका लागि १५ रुपैयाँ र विवाह मण्डपका लागि १० रुपैयाँ शुल्क लामो समयदेखि लिँदै आइएको हो। उनले मन्दिरको पूजा–पाठ, सरसफाइ, संरक्षण तथा दैनिक सञ्चालन खर्च यही आम्दानीबाट व्यवस्थापन हुँदै आएको दाबी गर्दै संघ, प्रदेश वा स्थानीय सरकारले हालसम्म कुनै आर्थिक सहयोग नगरेको बताए। यदि खर्चबारे जिज्ञासा थियो भने कार्यालयमार्फत विवरण माग्न सकिने अवस्थामा मन्त्रीले प्रत्यक्ष टिकट खोस्नु पदको गरिमाअनुकूल नभएको उनको भनाइ छ।

यता मन्त्री फकिरा महतोले भने सार्वजनिक धार्मिक सम्पदामा प्रवेश शुल्क उठाउनु गलत भएको जिकिर गरेका छन्। पटक–पटक शुल्क हटाउन आग्रह गर्दा पनि व्यवस्थापनले बेवास्ता गरेपछि आफूले टिकट नियन्त्रणमा लिनुपरेको उनको दाबी छ। उनका अनुसार जानकी मन्दिर सार्वजनिक सम्पत्ति भएकाले श्रद्धालुसँग प्रवेश शुल्क लिन मिल्दैन। साथै, मन्दिरले आफ्नो आय–व्यय सार्वजनिक नगरेको र ठेक्का प्रक्रिया पनि पारदर्शी नभएको भन्दै उनले त्यसबारे स्पष्टता आवश्यक रहेको बताएका छन्।

प्रदेश सरकार र मन्दिर व्यवस्थापनबीचको यही आरोप–प्रत्यारोपका कारण धार्मिक तथा ऐतिहासिक महत्वका दुई प्रमुख संरचना बन्द हुँदा जनकपुरधामको धार्मिक पर्यटनसमेत प्रभावित भएको छ। स्थानीयवासीले विवाद तत्काल समाधान गरी श्रद्धालुका लागि संरचना पुनः सञ्चालन गर्न दुवै पक्षसँग आग्रह गरेका छन्।

भारत सरकारको आर्थिक सहयोगमा करिब एक दशकअघि निर्माण गरिएको विद्युतीय संग्रहालयमा माता सीताको जन्मदेखि विवाहसम्मका विभिन्न प्रसंग आधुनिक प्रविधिमार्फत प्रस्तुत गरिएको छ। यो संग्रहालय जनकपुर आउने पर्यटकका प्रमुख आकर्षणमध्ये एक मानिन्छ।

त्यसैगरी, वर्तमान विवाह मण्डपको निर्माण वि.सं. २०२६ सालमा सुरु भई वि.सं. २०४२ साल पुस १८ गते तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहदेवबाट उद्घाटन गरिएको थियो। धार्मिक विश्वासअनुसार भगवान राम र माता सीताको विवाह यही स्थानमा सम्पन्न भएको मानिन्छ। प्रत्येक वर्ष विवाह पञ्चमीका अवसरमा यही मण्डपमा आयोजना हुने राम–जानकी विवाह महोत्सवमा नेपाल, भारतसहित विभिन्न देशबाट लाखौं श्रद्धालुको सहभागिता हुने गर्दछ।

धार्मिक आस्थाको केन्द्र मानिने जानकी मन्दिरका यस्ता ऐतिहासिक संरचना पहिलोपटक बन्द हुनुले प्रदेश सरकार र मन्दिर व्यवस्थापनबीचको विवाद अब प्रशासनिक सीमाभन्दा बाहिर पुगेर धार्मिक पर्यटन र श्रद्धालुको सुविधासँग प्रत्यक्ष जोडिएको विषय बनेको देखिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस