२०८३ असार ३१ गते, बुधबार ११:३९

बलात्कार मुद्दामा दोषी ठहर भएका केशरी पक्राउ

वीरगञ्ज –

जबरजस्ती करणी (बलात्कार) मुद्दामा दोषी ठहर भई विगत तीन वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

पर्सा जिल्ला अदालतले ७ वर्ष कैद र ३ लाख ३७ हजार रुपैयाँ जरिवाना सजाय सुनाएका वीरगञ्ज महानगरपालिका–९ निवासी ३० वर्षीय रोहन केशरीलाई प्रहरीले बुधबार काठमाडौंबाट पक्राउ गरी वीरगञ्ज ल्याएको हो।

पर्सा जिल्ला अदालतले २०८१ साल असार २३ गते केशरीलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै कैद तथा जरिवानाको फैसला सुनाएको थियो। त्यसयता उनी फरार रहेका थिए।

फरार अभियुक्त काठमाडौंमा रहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले अपराध अनुसन्धान कार्यालय, टेकुसँग समन्वय गरी खोजी अभियान सञ्चालन गरेको थियो। सोही क्रममा काठमाडौं महानगरपालिका–९ स्थित एयरपोर्ट क्षेत्रको गोल्डेन गेटबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका केशरीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सजाय कार्यान्वयनका लागि आजै पर्सा जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस