२०८३ असार ३१ गते, बुधबार ११:३९

रौतहटमा एक युवकद्वारा आत्मदाहको प्रयास

रौतहट

मधेश प्रदेशमा आत्मदाह प्रयासका घटना शृङ्खलाबद्ध रूपमा देखा पर्न थालेका छन् । सर्लाहीको घटना सेलाउन नपाउँदै रौतहटमा पनि एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।

​मंगलबार राति करिब १ बजे रौतहटको गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतम कुमार सहनीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन् ।

​गरुडा–९ का वडा अध्यक्ष राजेश सहनीका अनुसार गौतम केही दिनयता मानसिक तनाव तथा डिप्रेसनबाट पीडित थिए । उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आत्मदाहको प्रयास गरेको बताइएको छ । गौतमले गरुडा बजारस्थित झाझ पुल नजिक छाप्रे होटल सञ्चालन गर्दै आएका थिए । सोही व्यवसायको आम्दानीबाट उनले आफ्ना तीन छोरा र परिवारको जीविकोपार्जन गर्दै आएका थिए ।

उपचारका लागि काठमाडौँ रिफर

​आत्मदाह प्रयास लगतै परिवारका सदस्यहरूले उनलाई उद्धार गरी तत्काल गरुडास्थित बेटर नेपाल अस्पताल पुर्‍याएका थिए । त्यहाँ प्राथमिक उपचार गरिए तापनि अवस्था जटिल भएपछि थप उपचारका लागि काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । आगोले उनको शरीरको करिब ३५ प्रतिशत भाग जलेको बुझिएको छ ।

​यसअघि गत शुक्रबार मात्रै सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३५ वर्षीय विवेक मण्डलले पनि आत्मदाहको प्रयास गरेका थिए । शरीरको करिब ८५ प्रतिशत भाग जलेका मण्डललाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँस्थित बर्न अस्पताल लगिएको भए तापनि उपचारकै क्रममा मंगलबार उनको निधन भएको थियो । उक्त दुःखद घटनाको लगत्तै रौतहटमा पनि उस्तै प्रकृतिको अर्को घटना घटेपछि स्थानीय स्तरमा चिन्ता र चासो बढेको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस