२०८३ असार ३१ गते, बुधबार १७:२८

अख्तियारको लगातार प्रहारः उच्च पदस्थ अधिकारीहरू दोषी ठहर हुने क्रम बढ्दो, सुनिल पौडेल पनि भ्रष्टाचारमा दोषी

काठमाडौं –

नेपालमा भ्रष्टाचारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेका मुद्दामा उच्च ओहदाका सरकारी अधिकारीहरू लगातार दोषी ठहर हुन थालेका छन्। पछिल्ला निर्णयहरूले सार्वजनिक पदको दुरुपयोग गर्नेहरू कानुनी दायराबाट उम्कन नसक्ने सन्देश दिएको छ।

यही क्रममा विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनिल पौडेललाई मंगलबार एकैदिन दुई फरक भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा उनलाई दुई वर्ष कैद, १२ करोड ७५ लाख रुपैयाँ बिगो तथा सोही बराबर जरिवाना गर्ने फैसला भएको छ भने घुस लिएको मुद्दामा पनि दोषी ठहर भए पनि सजाय निर्धारण हुन बाँकी छ।

अदालतका अनुसार पौडेलले ठेक्का प्रक्रियामा मिलेमतो गरी विदेशी कम्पनीहरूबाट कमिसन लिई सिंगापुरस्थित बैंक खातामार्फत रकम लुकाएको पुष्टि भएको छ। फरेन्सिक परीक्षण र सिंगापुरबाट प्राप्त बैंक विवरणका आधारमा करोडौं रुपैयाँको अवैध कारोबार भएको अदालतले स्वीकार गरेको हो।

यस्तै, राष्ट्रिय सूचना प्रविधि केन्द्रका लागि सुरक्षा प्रणाली खरिद गर्दा करिब तीन करोड आठ लाख रुपैयाँ घुस लिएको आरोप पनि अदालतले प्रमाणित गरेको छ। उक्त प्रकरणमा ठेक्का प्रक्रियामा संलग्न एक निजी कम्पनीका प्रतिनिधिलाई समेत दोषी ठहर गरिएको छ।

विशेष अदालतको यो फैसला पछिल्ला वर्षहरूमा अख्तियारले अघि बढाएका ठूला भ्रष्टाचार मुद्दामध्ये महत्वपूर्ण मानिएको छ। लगातार उच्च पदस्थ अधिकारीहरू दोषी ठहर हुन थालेसँगै सार्वजनिक निकायमा हुने भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने अभियानलाई थप बल पुगेको विश्लेषण गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस