बुटवल –
नेपाली र भारतीय नागरिकको संलग्नतामा बुटवलबाट गोप्य रूपमा सञ्चालन भइरहेको नक्कली नेपाली नोट उत्पादन गर्ने गिरोहलाई प्रहरीले ठूलो अपरेशनमार्फत पक्राउ गरेको छ। सामान्य पसलको आवरणमा सञ्चालन भइरहेको उक्त स्थानबाट नक्कली नोट छाप्ने अत्याधुनिक उपकरण, रासायनिक पदार्थ र लाखौं रुपैयाँ बराबरका नक्कली नोट बरामद भएपछि घटनाले नयाँ रहस्य थपेको छ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ नेपालगञ्ज रोडस्थित एक पसलमा लामो समयदेखि नक्कली नोट उत्पादन भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा गिरोहका पाँच नेपाली र एक भारतीय नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्ने भारतीय नागरिक पश्चिम बंगालको सिलिगुडी निवासी रहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका-११ का ३६ वर्षीया गंगाकुमारी पूर्वछाने, कास्कीको पोखरा महानगरपालिका-१ निवासी किरणकृष्ण तिवारी (कृष्ण), कपिलवस्तुको बाणगंगा नगरपालिका–१ का सञ्जय थारू, भक्तपुरको चाँगुनारायण नगरपालिका–१ का ४१ वर्षीय रामचन्द्र खत्री, दोलखाको शैलुङ गाउँपालिका-४ का ३८ वर्षीय पासाङ तामाङ र भारतको पश्चिम बंगाल राज्य, सिलिगुडीस्थित भक्तिनगर थाना क्षेत्रका ४९ वर्षीय वासुमित्र आनन्द छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवस्तवका अनुसार पक्राउ परेकाहरूको घर तथा डेरामा गरिएको खानतलासीका क्रममा एक हजार दरका ६२२ थान नक्कली नेपाली नोट बरामद भएको छ। बरामद नोटको कुल मूल्य ६ लाख २२ हजार रुपैयाँ रहेको छ।
प्रहरीले घटनास्थलबाट फोटोकपी मेसिन, ल्यापटप, प्रिन्टर, विशेष कागज, लेमिनेसन मेसिन, विभिन्न रासायनिक पदार्थ, प्लास्टिक पेपर, नोट काट्ने मेसिन तथा मोबाइल फोनसमेत बरामद गरेको छ। बरामद सामग्रीले गिरोहले व्यवस्थित रूपमा नक्कली नोट उत्पादन गर्ने ‘मिनी प्रिन्टिङ सेन्टर’ नै सञ्चालन गरेको संकेत गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
प्रहरीले पक्राउ परेका सबैविरुद्ध मुद्रासम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ। गिरोहको सञ्जाल नेपालभित्र मात्रै सीमित थियो वा अन्तरदेशीय नेटवर्कसँग जोडिएको थियो भन्ने विषयमा समेत अनुसन्धान केन्द्रित गरिएको प्रहरीले जनाएको छ।












