२०८३ असार ३२ गते, बिहीबार १२:३०

आत्मदाह र आत्महत्याका घटना बढ्दै, रौतहटमा भारतीय युवक पोखरीमा मृत फेला

रौतहट-

पछिल्लो समय नेपालमा युवामाझ आत्महत्या तथा आत्मदाहका घटनामा वृद्धि भइरहेका बेला रौतहटमा एक भारतीय युवक पोखरीमा हाम फालेपछि मृत अवस्थामा फेला परेका छन्। पछिल्ला केही महिनायता विभिन्न जिल्लामा यस्ता दुःखद घटनाको शृंखला बढ्दै जाँदा मानसिक स्वास्थ्य, सामाजिक दबाब र समयमै परामर्श सेवाको अभावबारे पुनः चिन्ता व्यक्त हुन थालेको छ।

रौतहटको ईशनाथ नगरपालिका–४ ठूलो लचमरीस्थित मठिया माध्यमिक विद्यालयको माछा पोखरीमा हाम फालेपछि बेपत्ता भएका भारतको बिहार राज्यका २३ वर्षीय मोहम्मद वजिरको शव बुधबार बिहान पोखरीबाट फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार मंगलबार राति करिब ९ः३० बजे युवकले पोखरीमा हाम फालेको सूचना प्राप्त भएपछि प्रहरी चौकी मठिया र सशस्त्र प्रहरी बलको बीओपी औरैयाबाट संयुक्त टोली परिचालन गरी खोजी अभियान सुरु गरिएको थियो। लगातारको खोजीपछि बुधबार बिहान करिब ९ः४५ बजे उनको शव पोखरीबाट निकालिएको हो।

प्रहरीका अनुसार मृतक भारतको बिहार राज्य, पूर्वी चम्पारण (मोतिहारी) जिल्ला, ढाका ग्राम पञ्चायत–३० निवासी लाल मोहम्मदका छोरा मोहम्मद वजिर हुन्।

शव फेला परेपछि प्रहरी निरीक्षक विश्वनाथ यादवको नेतृत्वमा अपराध अनुसन्धान टोली घटनास्थल पुगेको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ।

घटनाको वास्तविक कारण भने अझै खुल्न सकेको छैन। युवकले किन पोखरीमा हाम फाले भन्ने विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट घटनाबारे कुनै निष्कर्ष ननिस्किएकाले सबै पक्षबाट अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस