वीरगन्ज-
वीरगन्ज सहरकी आराध्य देवी गहवामाईको चौथो भव्य रथयात्रा बिहिवार हर्षोल्लासका साथ निकालिएको छ। हजारौँ श्रद्धालुको उत्साहपूर्ण सहभागितामा निकालिएको रथयात्राले वीरगन्जको धार्मिक वातावरणलाई थप उल्लासमय बनाएको थियो।
रथयात्रा बिहान वीरगन्जको माइस्थानस्थित गहवामाई मन्दिर परिसरबाट बाजागाजा, भजन–कीर्तन र धार्मिक नारासहित सुरु भएको थियो। कडा सुरक्षा व्यवस्थाका बीच मन्दिरबाट प्रस्थान गरेको रथ घण्टाघर, रेलवे रोड, छपकैया हुँदै छपकैयाको ईदगाह चोक पुगेर पुनः माइस्थान मन्दिरमा फर्किएको आयोजकले जनाएको छ।
रथयात्रामा परम्परागत बाजागाजा, आकर्षक धार्मिक झाँकी तथा भजन–कीर्तनले भक्तिमय वातावरण सिर्जना गरेको थियो। श्रद्धालुहरूले रथको दर्शन गर्दै पूजा–अर्चना गरेका थिए भने विभिन्न स्थानमा रथलाई स्वागत गर्दै प्रसाद वितरणसमेत गरिएको थियो।
रथयात्रालाई व्यवस्थित र सुरक्षित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी तथा स्वयंसेवक परिचालन गरिएको थियो। यात्रा मार्गमा ट्राफिक व्यवस्थापन प्रभावकारी रूपमा मिलाइएकाले रथयात्रा शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ।
रथयात्रामा वीरगन्ज तथा आसपासका क्षेत्रबाट आएका हजारौँ श्रद्धालुको सहभागिता रहेको थियो। बालबालिका, युवा, महिला तथा ज्येष्ठ नागरिकको उल्लेखनीय उपस्थितिले रथयात्रालाई अझ भव्य र ऐतिहासिक बनाएको आयोजकले जनाएको छ।












