२०८३ श्रावण ५ गते, मंगलवार १५:५४

वीरगन्ज भन्सारले १८ अर्ब रुपैयाँबढी राजस्व संकलनगरेपनि लक्ष्य हासिल गर्न सकेन

वीरगन्ज

देशकै प्रमुख व्यापारिक नाका वीरगन्जको राजस्व संकलनमा क्रमिक सुधार देखिएको छ । समीक्षा अवधिको तुलनामा वीरगन्ज नाकाबाट गत आर्थिक वर्ष १८ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ ।

राष्ट्रिय राजस्वमा सबैभन्दा बढी योगदान दिने वीरगन्ज भन्सार नाकाबाट आर्थिक वर्ष २०८१/८२ मा २ खर्ब २५ अर्ब ७३ करोड ४९ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । त्यसको तुलनामा आर्थिक वर्ष २०८२/८३ मा २ खर्ब ४३ अर्ब ९६ करोड ४५ लाख रुपैयाँ राजस्व संकलन भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १८ अर्ब २२ करोड ९६ लाख रुपैयाँ बढी हो ।

समीक्षा अवधिको तुलनामा वीरगन्ज नाकाबाट बढी राजस्व संकलन भए पनि भन्सार विभागले दिएको वार्षिक लक्ष्य भने पूरा हुन सकेन ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आर्थिक वर्षका लागि विभागले २ खर्ब ७३ अर्ब ३९ करोड ४७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो । तर कार्यालयले लक्ष्यको तुलनामा २९ अर्ब ४३ करोड २ लाख रुपैयाँ कम राजस्व संकलन गरेको हो ।

वीरगन्ज भन्सार कार्यालयलाई सबैभन्दा बढी राजस्व दिने इन्धन तथा इन्धनबाट चल्ने सवारीसाधनको आयातमा आएको कमीले राजस्व संकलनमा असर पारेको सूचना अधिकारी विष्टले बताउनुभयो ।

“वीरगन्ज नाका हुँदै नेपाल भित्रिने इन्धन तथा इन्धनबाट चल्ने सवारीसाधनको आयातमा भारी कमी आएका कारण अपेक्षित राजस्व संकलन हुन सकेन,” उहाँले बताउनुभयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस