काठमाडौं –
मनसुन सक्रिय भएसँगै देशभर विपद्का घटना बढ्न थालेका छन्। पछिल्लो २४ घण्टामा मात्रै देशका ५२ जिल्ला प्रभावित हुने गरी ६६ वटा विपद्का घटना भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहानदेखि मंगलबार बिहानसम्म भएका विपद्का घटनामा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
प्राधिकरणको विवरणअनुसार पछिल्लो २४ घण्टामा १७ वटा पहिरो, १० वटा अविरल वर्षा, आठ वटा सर्पदंश, सात वटा आगलागी र छ वटा बाढीका घटना भएका छन्। यसैगरी चट्याङ, जनावरको आक्रमण र भूकम्पका घटनासमेत अभिलेख भएका छन्।
विपद्का घटनाबाट करिब १० लाख ७४ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ। विभिन्न स्थानमा आएको विपद्का कारण सात ठाउँमा सडक अवरुद्ध भएको थियो।
मनसुनका कारण देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम बढेकाले प्राधिकरणले नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न, यात्रा गर्नुअघि मौसमसम्बन्धी सूचना लिन तथा बाढी र पहिरोको सम्भावना भएका स्थानमा सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको छ।












