२०८३ आश्विन ४ गते, आईतवार २३:११

अफगानिस्तानमा भीषण बाढी : २३ जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता

काठमाडौं –

अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तमा आएको भीषण बाढीमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी मानिस बेपत्ता भएका छन्।

बाढीपछि उद्धार तथा राहत टोलीले भग्नावशेषमा पुरिएका मानिसको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएका छन्। अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार आएको बाढीमा २३ जनाको मृत्यु हुनुका साथै ८० जना घाइते भएका छन्।

बाढीका कारण प्रान्तीय राजधानी पारुनलगायत प्रभावित क्षेत्रमा ठूलो संख्यामा घर तथा अन्य संरचना क्षतिग्रस्त भएका छन्। उद्धार टोलीले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी राखेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

अधिकारीहरूले देशका विभिन्न भागमा भारी वर्षाको जोखिम अझै कायम रहेको चेतावनी दिएका छन्। मौसम विभागले आगामी दिनमा भारी वर्षासँगै चट्याङ, हुरीबतास र बाढी आउन सक्ने सम्भावना औँल्याउँदै ३४ मध्ये १० प्रान्तमा ‘अलर्ट’ जारी गरेको छ।

स्थानीयवासीलाई नदी किनार तथा बाढी र पहिरोको जोखिम भएका क्षेत्रबाट टाढा रहन आग्रह गरिएको छ।

गत वर्ष अफगानिस्तानमा आएको भीषण बाढीमा ३०० भन्दा बढी मानिसको मृत्यु भएको थियो। यस वर्ष पनि बाढी र पहिरोजस्ता प्राकृतिक विपद्का घटनामा ११० भन्दा बढी मानिसको मृत्यु भइसकेको बताइएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस