२०८३ श्रावण ६ गते, बुधबार २१:२१

युवा, किसान र गाउँलाई बिर्सिएपछि कांग्रेस कमजोर भयो : केन्द्रीय सदस्य घिमिरे

वीरगन्ज-

युवा, किसान र गाउँलाई बिर्सिएकै कारण नेपाली कांग्रेस कमजोर भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य उज्ज्वल घिमिरेले बताउनुभएको छ।

कांग्रेसको आत्मा नै युवा, किसान र गाउँमा बस्ने भन्दै उहाँले पार्टीले आफ्नो मूल आधारलाई छाडेर सहर तथा सत्ताकेन्द्रित राजनीति गर्न थालेपछि कांग्रेस कमजोर हुँदै गएको दाबी गर्नुभयो।

नेपाली कांग्रेस पर्साले बुधबार पर्साको पटेर्वा सुगौली गाउँपालिकामा आयोजना गरेको महामानव बीपी कोइरालाको ४४औँ स्मृति दिवस एवं ‘जरा अभियान’ समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेता घिमिरेले यस्तो बताउनुभएको हो।

नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालालाई स्मरण गर्दै उहाँले कांग्रेसको जनआधार गाउँबस्ती र युवा ऊर्जामा आधारित रहेको बताउनुभयो। यही आधारलाई आफ्नो मूल नीति बनाउँदै बीपीले गाउँका किसान र युवाको हितका लागि राजनीति गर्नुभएको भए पनि पछिल्लो समय कांग्रेस नेतृत्वले पार्टीको मूल जरो रहेको गाउँ, किसान तथा युवालाई छाडेर सत्ताकेन्द्रित राजनीति गर्न थालेपछि पार्टीको जनआधार कमजोर बनेको उहाँको भनाइ थियो।

“बीपीको सपना किसान र युवाको उन्नति थियो। तर पार्टीका नेताहरू त्यसबाट विचलित भई शासन र सत्ताकेन्द्रित राजनीति गर्न थालेपछि कांग्रेसको मूल जनआधार नै पार्टीबाट अलग हुँदै गएको छ,” नेता घिमिरेले भन्नुभयो, “यसले पार्टीलाई मात्र होइन, समग्र लोकतन्त्रलाई समेत कमजोर बनाउने जोखिम सिर्जना गरेको छ।”

युवा, किसान र गरिब जनतालाई केन्द्रबिन्दुमा राखेर बीपीले थालनी गर्नुभएको राजनीतिलाई कांग्रेसको नयाँ नेतृत्वले आत्मसात् गर्दै सत्ताभन्दा जनअधिकार, जनताको हित तथा गरिब, किसान र युवाको विकासलाई आफ्नो मूल एजेन्डा बनाएर अघि बढिरहेको उहाँले बताउनुभयो।

बीपी कोइरालाले थालनी गर्नुभएको राजनीतिक संस्कारको अहिले मुलुकलाई सबैभन्दा बढी आवश्यकता रहेको भन्दै नेता घिमिरेले कांग्रेसले सुरु गरेको जनपक्षीय राजनीतिलाई बलियो बनाउन सबैलाई आग्रह गर्नुभयो।

बीपी स्मृति दिवसको अवसरलाई आत्मसात् गर्दै अब कांग्रेस जनताको पक्षधर, किसान र युवाको अधिकारका लागि संघर्षशील पार्टीका रूपमा अघि बढ्ने उहाँले बताउनुभयो। कांग्रेसको यो नयाँ सुरुवातलाई साथ दिँदै लोकतन्त्रलाई बलियो बनाउने अभियानमा जुट्न पनि नेता घिमिरेले सबैलाई अपिल गर्नुभयो।

नेपाली कांग्रेस पर्साका जिल्ला सभापति एवं पूर्वमन्त्री जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य सानु परियार, नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, जिल्ला सचिव एवं पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरी, नेपाली कांग्रेस पर्सा क्षेत्र नं. २ का क्षेत्रीय सभापति महमद सहाबुद्दिन, क्षेत्र नं. ३ का क्षेत्रीय सभापति श्रीकृष्ण चौहानलगायतका नेताहरूले बीपीलाई स्मरण गर्दै विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व मात्र नभई सोचमा समेत परिवर्तन आएको धारणा व्यक्त गर्नुभयो।

उहाँहरूले अब पार्टी सत्तालाई नभई मूल्य–मान्यतालाई आत्मसात् गर्दै बीपीले देखाएको राजनीतिक मार्गमा अघि बढिरहेको बताउनुभयो।

कार्यक्रमपछि बीपी स्मृति दिवसको अवसरमा पालीकाको धर्मशाला परिसरमा विभिन्न जातका बिरुवा रोपिएको थियो। आम, अम्बालगायत विभिन्न प्रजातिका दुई सयभन्दा बढी बिरुवा पार्टीका नेता तथा कार्यकर्ताले रोपेका थिए।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस