वीरगन्ज–
सप्तरी प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–५ बाट प्रहरीले बुधबार बिहान ३ हजार ३ सय ३३ किलोभन्दा बढी गाँजा बरामद गरेको हो।
खुला सीमाको फाइदा उठाउँदै गाँजा भारततर्फ लैजान लागिएको पूर्वसूचनाका आधारमा प्रहरीले कारबाही गर्दा नेपाली नम्बर प्लेटका एउटा स्कार्पियो र दुईवटा पिकअप जिपबाट १०० बोरामा राखिएको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
हनुमाननगरबाट रामपुर मल्हनियातर्फ जाँदै गरेका बा.प्र.०१–०२५ च ०४३६ नम्बरको स्कार्पियो, प्रदेश १–०४–००१ च १५०७ र बा.प्र.०१–०२९ च ९५८६ नम्बरका दुईवटा पिकअप जिपलाई रोकी जाँच गर्दा गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सवारीसाधन रोकेर जाँच गर्ने क्रममा चालकहरू सवारीसाधन छाडेर फरार भएका थिए। फरार चालकहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
चेकजाँचका क्रममा स्कार्पियोबाट १९ बोरामा रहेको ५२३.६४० किलो, एउटा पिकअपबाट ४८ बोरामा रहेको १ हजार ६६८.११० किलो र अर्को पिकअपबाट ३३ बोरामा रहेको १ हजार १७०.७१० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।












