२०८३ श्रावण ८ गते, शुक्रबार १२:०८

एक वर्षदेखि फरार बलात्कार मुद्दाका अभियोगी तिवारी पक्राउ

वीरगन्ज-

जबरजस्ती करणी (बलात्कार)को अभियोगमा पर्सा प्रहरीले २२ वर्षीय एक युवकलाई पक्राउ गरेको छ । एक वर्षअघि युवतीलाई बलात्कार गरी फरार रहेका वीरगन्ज महानगरपालिका–२८, बगही घर भई हाल वीरगन्ज महानगरपालिका–२४, रामगढवामा बस्दै आएका आकाश तिवारीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

जबरजस्ती करणी मुद्दाका अभियोगी तिवारीलाई बिहीबार अपराह्न करिब ४ बजे वीरगन्ज महानगरपालिका–६ स्थित सडकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तिवारीले युवतीलाई विवाह गर्ने प्रलोभन देखाई २०८२ साल साउन २३ गते रामगढवास्थित आफ्नै घरमा लगेर बलात्कार गरेका थिए । घटनापछि उनी फरार रहँदै आएका थिए ।

विवाहको प्रलोभन देखाई युवतीमाथि यौन तथा शारीरिक शोषण गरेको आरोपमा तिवारीविरुद्ध उजुरी दर्ता भएपछि उनी फरार रहेका थिए । तिवारी वीरगन्जमा रहेको जानकारी पाएपछि उनलाई वडा नम्बर ६ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेका तिवारीलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी आवश्यक अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस