२०८३ श्रावण १२ गते, मंगलवार १४:२५

कल्भर्ट निर्माणका लागि खनिएको खाल्डोमा डुबेर वीरगन्जमा दुई बालिकाको मृत्यु

वीरगन्ज-

कल्भर्ट निर्माणका लागि खनिएको खाल्डोमा जमेको वर्षाको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।

वीरगन्ज महानगरपालिका–२६ सुगौलीस्थित चकदहमा निर्माणाधीन कल्भर्टका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर स्थानीय प्रभु ठाकुरका दुई छोरीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार हजुरबुवासँग खेततर्फ गएका प्रभु ठाकुरका ५ वर्षीया छोरी पुच्की ठाकुर र ३ वर्षीया छोरी घघरी ठाकुर सोमबार अपराह्नदेखि सम्पर्कविहीन भएका थिए।

दुवै बालिका हराएको जानकारी सोमबार साँझ परिवारले प्रहरीलाई गराएपछि खोजी कार्य सुरु गरिएको थियो। रातभर खोजी गर्दा पनि फेला नपरेका उनीहरू आज बिहान निर्माणस्थलको खाल्डोमा जमेको पानीभित्र मृत अवस्थामा भेटिएका हुन्।

मृतक दुवै बालिकाको शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी मल्लले जानकारी दिनुभयो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस