२०८३ श्रावण १२ गते, मंगलवार १४:४६

नारायणी अस्पतालका ६५ चिकित्सकद्वारा सामूहिक राजीनामा, इमर्जेन्सी र ओपीडी सेवा तेस्रो दिन पनि बन्द

वीरगन्ज

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको विरोधमा नारायणी अस्पतालका ६५ जना चिकित्सकले सोमबार सामूहिक राजीनामा अस्पताल प्रशासनलाई बुझाएका छन्।

गत साउन ९ गते अस्पतालको आकस्मिक (इमर्जेन्सी) कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको विरोध तथा घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गर्न माग गर्दै चिकित्सकहरूले सामूहिक रूपमा राजीनामा बुझाएका हुन्।

नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार आकस्मिक कक्षमा सेवारत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि ज्यानै जाने गरी कुटपिट गर्ने व्यक्तिहरूलाई स्थानीय प्रशासनले संरक्षण गर्न खोजेपछि अस्पतालमा सुरक्षित वातावरणमा काम गर्न नसकिने अवस्था सिर्जना भएको भन्दै चिकित्सकहरूले राजीनामा दिएका हुन्।

उहाँका अनुसार हालसम्म ६५ जना चिकित्सकको राजीनामा प्राप्त भइसकेको छ भने थप केही चिकित्सक राजीनामा बुझाउन आउने क्रममा छन्। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू पनि सामूहिक रूपमा राजीनामा दिने तयारीमा रहेका छन्।

डा. सिंहले साउन ९ गते उपचारका लागि इमर्जेन्सीमा ल्याइएका वीरगन्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवारजन तथा आफन्तहरूले उपचारमा लापरबाही भएको आरोप लगाउँदै चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको जानकारी दिनुभयो। उक्त घटनामा इमर्जेन्सीमा कार्यरत डा. प्रमोद राम गम्भीर घाइते भएका थिए। उहाँको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको डा. सिंहले बताउनुभयो।

हृदयघात (कार्डियाक अरेस्ट) भएका बिरामीको उपचारका क्रममा मृत्यु भएपछि परिवारजनले देखाएको व्यवहारले अस्पतालका सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी असुरक्षित महसुस गरिरहेको उहाँको भनाइ छ। सुरक्षाको प्रत्याभूति र दोषीमाथि कडा कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुग्दा समेत चिकित्सकहरूलाई अपमानित गरिएको आरोप लगाउँदै उहाँले त्यसकै कारण सामूहिक राजीनामा दिने चिकित्सकहरूको संख्या बढ्दै गएको बताउनुभयो।

यसैबीच, चिकित्सकहरूको आन्दोलनका कारण नारायणी अस्पतालको आकस्मिक (इमर्जेन्सी) तथा बहिरंग (ओपीडी) सेवा सोमबार तेस्रो दिन पनि पूर्ण रूपमा बन्द रहेको छ। सेवा बन्द हुँदा उपचारका लागि आएका बिरामीहरू मर्कामा परेका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस