वीरगन्ज–
वीरगन्ज महानगरपालिका-२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई पर्सा प्रहरीले मंगलबार अपराह्न पक्राउ गरेको छ। उनलाई वीरगन्ज महानगरपालिकाको कार्यालयबाट नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार साउन ९ गते नारायणी अस्पतालको आकस्मिक उपचार कक्ष (इमर्जेन्सी)मा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिट घटनाको अनुसन्धानका लागि चतुर्वेदीलाई नियन्त्रणमा लिइएको हो।
उहाँले घटनाका सम्बन्धमा चतुर्वेदीसँग सोधपुछ आवश्यक देखिएकाले नियन्त्रणमा लिइएको बताउनुभयो। घटनाको अनुसन्धान जारी रहेकाले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने उहाँको भनाइ छ।
यसैबीच, पक्राउ परेका चतुर्वेदीलाई तत्काल रिहा नगरे आन्दोलनमा उत्रिने चेतावनी वीरगन्ज महानगरपालिकाका वडाध्यक्षहरूले दिएका छन्। मंगलबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले जनप्रतिनिधिले जनताको समस्याका विषयमा सम्बन्धित कार्यालय र निकायमा पहल गर्नु आफ्नो जिम्मेवारी भएको उल्लेख गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “जनताको पक्षमा आवाज उठाएकै आधारमा जनप्रतिनिधिलाई पक्राउ गरिनु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हो। यदि यस प्रकारको कार्य जारी रहेमा महानगरपालिकाका जनप्रतिनिधि चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुनेछन्।”
विज्ञप्तिअनुसार चिकित्सकीय लापराहीका कारण वीरगन्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको साउन ९ गते मृत्यु भएको आरोप लगाइएको छ। सो घटनापछि आक्रोशित भएका मृतकका आफन्तहरूले अस्पतालमा चिकित्सकमाथि कुटपिट गरेका थिए। त्यसपछि उत्पन्न विवाद समाधानका लागि वडाध्यक्ष चतुर्वेदी अस्पतालदेखि जिल्ला प्रशासन कार्यालयसम्म समन्वय र संवादका लागि पुगेका थिए। तर सोही विषयलाई आधार बनाई प्रहरीले पूर्वाग्रही ढंगले उनलाई पक्राउ गरेको आरोप वडाध्यक्षहरूको छ।
विज्ञप्तिमा साउन १३ गतेभित्र चतुर्वेदीलाई रिहा नगरे स्थानीय प्रशासनविरुद्ध चरणबद्ध आन्दोलन सुरु गरिने चेतावनी दिइएको छ। वीरगन्ज महानगरपालिकाका ३२ मध्ये २४ जना वडाध्यक्षले उक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।
उता, प्रहरीका अनुसार घटनाको अनुसन्धानका क्रममा चतुर्वेदीको नाम आएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। सूचना अधिकारी मल्लसँग कुटपिट भएको समयमा चतुर्वेदी घटनास्थलमा उपस्थित थिए वा थिएनन् भन्ने विषयमा जिज्ञासा राख्दा उहाँले त्यसबारे कुनै प्रतिक्रिया दिन चाहनुभएन।
उल्लेखनीय छ, साउन ९ गते हृदयघात भएपछि राजकुमार पटेललाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएपछि आफन्तहरूले उपचारमा लापराही भएको आरोप लगाउँदै आकस्मिक उपचार कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका थिए।
कुटपिटबाट आकस्मिक उपचार कक्षमा कार्यरत डा. प्रमोद राम गम्भीर घाइते भएका थिए। प्रारम्भमा उनको उपचार नारायणी अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा गरिएको थियो। स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो।
चिकित्सकमाथि भएको आक्रमणमा संलग्न दोषीलाई कारबाहीको माग गर्दै नेपाल चिकित्सक संघले इमर्जेन्सी सेवा बाहेक देशभरका स्वास्थ्य संस्थामा नियमित सेवा बन्द गरी आन्दोलन जारी राखेको छ।











