२०८३ श्रावण १४ गते, बिहीबार २३:४८

नारायणी अस्पतालको संकट झन् गहिरियो, प्रशासनको निर्णयले आन्दोलन विस्तार हुँदा वीरगन्जका ३२ वटै वडा कार्यालय ठप्प

वीरगन्ज-

नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट घटनापछि सुरु भएको आन्दोलन समाधानतर्फ जानुको सट्टा झन् जटिल बन्दै गएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले वडा नं. २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई पक्राउ गरेपछि आन्दोलन थप चर्किएको छ भने यसको प्रत्यक्ष असर स्वास्थ्य सेवादेखि स्थानीय सरकारी सेवासम्म परेको छ।

चिकित्सकहरू आन्दोलनमै रहेका कारण नारायणी अस्पतालको सेवा प्रभावित भइरहेका बेला अब वीरगन्ज महानगरपालिकाका ३२ वटै वडा कार्यालयले पनि अनिश्चितकालका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरेका छन्। यससँगै हजारौं सेवाग्राही दैनिक प्रशासनिक सेवाबाट वञ्चित भएका छन्।

वडाध्यक्षहरूको संयुक्त निर्णयअनुसार पक्राउ परेका वडा नं. २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीको तत्काल रिहाइको माग गर्दै साउन १३ गतेदेखि वडा कार्यालयका नियमित कामकाज स्थगित गरिएको हो।

घटनाको सुरुआत साउन ९ गते नारायणी अस्पतालमा उपचारका क्रममा वडा नं. २५ निवासी राजकुमार कुर्मीको मृत्यु भएपछि भएको थियो। चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तले अस्पतालमा विरोध प्रदर्शन गरेका थिए। त्यसक्रममा उत्पन्न विवादपछि चिकित्सकहरूले आन्दोलन सुरु गरेका थिए।

यसै घटनाको सन्दर्भमा पीडित परिवारको पक्षमा बोल्दै प्रशासनसँग समन्वय गर्ने प्रयास गरेका वडाध्यक्ष चतुर्वेदीलाई महानगरपालिका परिसरबाटै प्रहरीले पक्राउ गरेपछि विवाद झन् चर्किएको हो। जनप्रतिनिधिहरूले प्रहरीको उक्त कदमलाई अपरिपक्व र परिस्थितिलाई थप तनावपूर्ण बनाउने निर्णय भन्दै आपत्ति जनाएका छन्।

यसअघि साउन १२ गते नै सबै वडाध्यक्षहरूले संयुक्त विज्ञप्ति जारी गर्दै चतुर्वेदीलाई सम्मानपूर्वक रिहा गर्न प्रशासनसँग माग गरेका थिए। तर मागको सुनुवाइ नभएपछि बाध्य भएर वडा कार्यालयका सेवा बन्द गर्नुपरेको उनीहरूको भनाइ छ।

वडाध्यक्षहरूले पक्राउ परेका चतुर्वेदीलाई तत्काल रिहा नगरिए थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन्। आन्दोलनबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी स्थानीय प्रशासनले नै लिनुपर्ने उनीहरूको भनाइ छ।

नारायणी अस्पतालमा चिकित्सकहरूको आन्दोलन जारी रहँदा वडा कार्यालयसमेत बन्द भएपछि वीरगन्जमा स्वास्थ्य र सार्वजनिक सेवा दुवै क्षेत्र प्रभावित भएका छन्। समाधानका लागि संवाद र समन्वय आवश्यक भइरहेका बेला प्रशासनिक निर्णयले विवाद थप गहिरिँदै गएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्।

प्रतिक्रिया

सुनसरी घटनाको विरोधमा राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादव आमरण अनशनमा, माग पूरा नभएसम्म आन्दोलन जारी रहने घोषणा

काठमाडौं – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको विरोधमा

सुनसरी घटनाको विरोधमा राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादव आमरण अनशनमा, माग पूरा नभएसम्म आन्दोलन जारी रहने घोषणा

काठमाडौं – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको विरोधमा

पोडकास्ट सुन्नुहोस