२०८३ श्रावण १४ गते, बिहीबार १४:०५

वडाध्यक्ष चतुर्वेदी पक्राउको विरोधमा दोस्रो दिन पनि ३२ वटै वडा कार्यालयको सेवा बन्द

वीरगन्ज

वीरगन्ज महानगरपालिकाका वडा नं. २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी पक्राउको विरोधमा दोस्रो दिन पनि महानगरपालिकाका ३२ वटै वडा कार्यालयमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएका छन्।

वडाध्यक्ष चतुर्वेदीलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको विरोधमा महानगरपालिकाका सबै वडाध्यक्षहरूले साउन १३ गतेदेखि अनिश्चितकालका लागि अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण नियमित सेवा बन्द गर्ने निर्णय गरेका हुन्।

पक्राउ परेका वडाध्यक्षलाई विनाशर्त रिहा नगरेसम्म कार्यालय सञ्चालन नगर्ने अडानमा वडाध्यक्षहरू रहेपछि सर्वसाधारण सेवाग्राही प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। घटना दर्ता, विभिन्न प्रकारका सिफारिस, राजस्व दाखिला लगायतका सेवा लिन वडा कार्यालय पुगेका सेवाग्राही काम नहुँदा निराश भएर फर्किन बाध्य भएका छन्।

वीरगन्ज महानगरपालिकाका कार्यवाहक नगरप्रमुख इम्तियाज आलमका प्रेस सल्लाहकार सदाब मलिकका अनुसार वडाध्यक्षहरूको आन्दोलनका कारण महानगरपालिकाका सबै ३२ वडा कार्यालयको नियमित सेवा अवरुद्ध भएको छ। उहाँका अनुसार अत्यावश्यक सेवाबाहेक घटना दर्ता, सिफारिस, राजस्व संकलनलगायतका दैनिक प्रशासनिक सेवा पूर्ण रूपमा ठप्प छन्।

उता, जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले साउन १२ गते पक्राउ परेका वडाध्यक्ष चतुर्वेदीलाई वडा प्रहरी कार्यालय बिर्तामा राखेर अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेको जानकारी दिनुभयो।

उहाँका अनुसार साउन ९ गते वीरगन्जस्थित नारायणी अस्पतालको आकस्मिक उपचार कक्ष (इमर्जेन्सी) मा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिट र अस्पतालमा भएको तोडफोड घटनामा संलग्न रहेको आरोपमा वडाध्यक्ष चतुर्वेदीसहित तीन जनालाई पक्राउ गरिएको हो।

यस प्रकरणमा पर्साको बहुदरमाई नगरपालिका घर भई हाल वीरगन्ज महानगरपालिका–२४ रामगढवामा बसोबास गर्दै आएका अंकित पटेल, वीरगन्ज–२६ निवासी सैलेश पटेल तथा वडा नं. २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गत साउन ९ गते नारायणी अस्पतालमा उपचारका क्रममा वीरगन्ज–२५ निवासी राजकुमार कुर्मीको हृदयघात (कार्डियाक अरेस्ट) का कारण मृत्यु भएपछि विवाद उत्पन्न भएको थियो। मृतकका आफन्तहरूले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै इमर्जेन्सीमा कार्यरत चिकित्सक डा. प्रमोद रामसहित अन्य स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नुका साथै अस्पतालमा तोडफोड गरेका थिए।

वडाध्यक्ष चतुर्वेदीले सो घटनामा दुवै पक्षबीच समन्वय र विवाद समाधानको प्रयास गरेको दाबी गर्दै महानगरका वडाध्यक्षहरूले जनप्रतिनिधिले नागरिकको समस्या समाधान गर्ने क्रममा भूमिका निर्वाह गरेको व्यक्तिलाई पक्राउ गर्नु अनुचित भएको बताएका छन्। यही कारण उनीहरूले विरोधस्वरूप वडा कार्यालयका नियमित सेवा बन्द गर्दै आन्दोलन जारी राखेका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस