वीरगञ्ज-
पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगन्ज महानगरपालिका क्षेत्रभित्र सुरक्षा अवस्थालाई मध्यनजर गर्दै पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाएको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी गरिएको निषेधाज्ञा अनुसार जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम २०८३ साउन १५ गते साँझ ५ः०० बजेदेखि २०८३ साउन १६ गते बिहान ६ः०० बजेसम्म वीरगन्ज महानगरपालिकाको तोकिएको चार किल्लाभित्र पाँच जनाभन्दा बढी व्यक्ति जम्मा हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने भएको हो।
जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम उक्त निषेधाज्ञा जारी गरिएको जनाएको छ। प्रशासनले निषेधाज्ञाको उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिएको छ।
प्रशासनले निषेधाज्ञा लागू हुने क्षेत्रसमेत तोकेको छ। निषेधाज्ञा पूर्वमा प्रतिमा चोक–बसपार्क बाइपास रोड, पश्चिममा तिलोवे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट सम्मको क्षेत्रभित्र लागू हुनेछ।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई शान्ति, सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्न प्रशासनको आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।












