२०८३ श्रावण १४ गते, बिहीबार १९:५५

मधेश फेरि रगतले रङ्गिएको छ।

सुनसरीपछि-

अब सिरहामा पनि फेरि गोली चलेको छ, एक जनाको मृत्यु भइसकेको खबर छ । अरू जिल्लाहरूबाट पनि अप्रिय सूचनाहरू आइरहेका छन्। एउटा जीवन पनि राज्यको गोलीबाट गुम्नु लोकतन्त्रको असफलता हो। पटक-पटक नागरिकमाथि गोली चल्नु सरकारको राजनीतिक असफलता हो।
प्रधानमन्त्रीज्यू, गृहमन्त्रीज्यू, सत्तामा आउँदा तपाईंहरूले नै एउटा मापदण्ड स्थापित गर्नुभएको थियो। राज्यको गोलीले नागरिकको ज्यान जान्छ भने राजनीतिक जिम्मेवारी सरकारले लिनुपर्छ भन्नुहुन्थ्यो तपाईंहरू। आज त्यही मापदण्ड तपाईंहरूकै अगाडि उभिएको छ।
मधेश वर्षौंदेखि राज्यको अत्यधिक बल प्रयोग र प्रहरी बर्बरताको केन्द्र बन्दै आएको छ। किन हरेक संकटमा मधेशमा संवादभन्दा गोली छिटो पुग्छ? मधेशका नागरिकलाई सुरक्षा दिनुपर्ने निकायले बारम्बार उनीहरूलाई नै शंका र हेयको दृष्टिले हेर्ने प्रवृत्तिको किन अन्त्य हुन सकेको छैन? यस्तो व्यवहारले राज्यका लागि मधेशका जनताको जीवनको कुनै मोल छैन भन्ने गहिरो अनुभूति जन्माएको छ। लोकतान्त्रिक राज्यका लागि यो सबैभन्दा ठूलो असफलता हो।
मधेश जलिरहेको छ। पूर्वपश्चिम राजमार्ग अवरुद्ध छ। धार्मिक सद्भाव कमजोर हुँदै गएको छ। यस्तो बेला राष्ट्रले फेसबुक पोस्ट होइन, संसद्बाट बोल्ने प्रधानमन्त्री खोजिरहेको हुन्छ। यो बेला तत्कालै असहज अवस्था साम्य पार्ने र न्यायिक छानबिनको सुनिश्चितता दिलाउने कार्य सरकारका तर्फबाट अविलम्ब हनुपर्थ्यो। एकलकाटे भएर होइन, सबै राजनीतिक दलहरूको साथ-समर्थन स्वीकारेर सरकारले परिस्थितिको संवेदनशीलता बुझेको आभाष दिलाउनुपर्थ्यो।
गैह्रजिम्मेवारीको हद नाघिसक्यो- गोली चलाउने र आदेश दिने दुवै तहका जिम्मेवारमाथि कारबाही गर्न अब ढिला हुनुहुँदैन। गृह प्रशासनको चुस्त र प्रभावकारी उपस्थितिको आभाष दिलाउन नसकेका गृहमन्त्रीले कमजोरी स्वीकारुन्, जिम्मेवारी पूरा गर्न नसकेकोमा नैतिकता दर्साउन्। प्रहरी संगठन पनि बारम्बार यस्ता घटना दोहोरिने अवस्थाबारे जवाफदेही बनोस्।
प्रहरी नेतृत्वले नागरिकको जीवनको रक्षा गर्न र बल प्रयोगलाई कानुनी तथा व्यावसायिक सीमाभित्र राख्न नसकेकाले प्रहरी महानिरीक्षकले पनि नैतिक जिम्मेवारी लिनुपर्छ। नभए सरकारले उनको जिम्मेवारीबारे तत्काल सख्त निर्णय गर्नुपर्छ।
प्रधानमन्त्रीज्यू, यदि तपाईं संसद्मा उभिएर राष्ट्रलाई सम्बोधन गर्न, मधेश पुगेर पीडित परिवारसँग भेट्न र नागरिकको विश्वास पुनःस्थापित गर्न सक्नुहुन्न भने तपाईंले पनि आफ्नो राजनीतिक जिम्मेवारीबारे निर्णय लिनु उपयुक्त हुन्छ।
मधेशलाई समवेदना होइन, न्याय चाहिएको छ। नेपाललाई मौनता होइन, नेतृत्व चाहिएको छ। लोकतन्त्रमा नागरिकको जीवनको मूल्य भूगोल हेरेर फरक हुन सक्दैन!

प्रतिक्रिया

सुनसरी घटनाको विरोधमा राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादव आमरण अनशनमा, माग पूरा नभएसम्म आन्दोलन जारी रहने घोषणा

काठमाडौं – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको विरोधमा

सुनसरी घटनाको विरोधमा राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादव आमरण अनशनमा, माग पूरा नभएसम्म आन्दोलन जारी रहने घोषणा

काठमाडौं – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको विरोधमा

पोडकास्ट सुन्नुहोस