२०८३ श्रावण १५ गते, शुक्रबार १४:५५

दोषी कोही पनि उम्किँदैन, कप्तानगञ्ज घटनाको तहसम्म पुगेर सूक्ष्म अनुसन्धान हुन्छ : गृहमन्त्री गुरुङ

सुनसरी-

गृहमन्त्री सुधन गुरुङले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनाको तहसम्म पुगेर गहिरो र सूक्ष्म अनुसन्धान गरिने तथा घटनामा संलग्न कुनै पनि दोषीलाई उम्किन नदिइने स्पष्ट गरेका छन्। उनले निष्पक्ष छानबिनमार्फत सत्यतथ्य बाहिर ल्याइने र आवश्यक परे गोली चलेको घटनाको फरेन्सिक परीक्षणसमेत गरिने बताएका छन्।

शुक्रबार सुनसरीको देवानगञ्जमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले सरकारले घटनालाई अत्यन्त गम्भीर रूपमा लिएको बताए। उनले घटनाको प्रत्येक पक्षको वैज्ञानिक र निष्पक्ष ढंगले अनुसन्धान हुने उल्लेख गर्दै सत्य स्थापित गर्न कुनै कसर बाँकी नराखिने बताए।

उनले कुनै एक समुदायलाई मात्र लक्षित गरेर नभई सबै धार्मिक स्थल तथा गतिविधिबारे आवश्यक छानबिन गरिने स्पष्ट पारे। “सबै समुदायका मठ–मन्दिर, मस्जिदलगायत धार्मिक संरचना र गतिविधिको आवश्यक अनुसन्धान हुन्छ। सरकार कुनै पनि पक्षप्रति पूर्वाग्रही हुँदैन,” उनले भने।

दर्ता नभएका मदरसाबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा गृहमन्त्री गुरुङले अब त्यसतर्फ पनि सरकारले आवश्यक अध्ययन र नियमन प्रक्रिया अघि बढाउने जानकारी दिए।

घटना यति गम्भीर हुँदा पनि आफू तत्काल घटनास्थलमा नपुगेको भन्ने प्रश्नको जवाफ दिँदै उनले गृहमन्त्रीको भूमिका केवल घटनास्थल पुग्नु मात्र नभई समग्र शान्ति–सुरक्षा रणनीति तयार गर्नु रहेको बताए। प्रधानमन्त्री, सुरक्षा निकायका प्रमुख तथा सम्बन्धित अधिकारीहरूसँग निरन्तर छलफल गरेर सुरक्षा व्यवस्थापन, घाइतेको उपचार र अवस्थालाई नियन्त्रणमा लिन आवश्यक निर्णय गरिएको उनको भनाइ थियो।

गृहमन्त्री गुरुङले नेपाल सबै जातजाति, भाषा, धर्म र संस्कृतिको साझा मुलुक भएको उल्लेख गर्दै सरकारले सबै नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर जनचाहनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले कप्तानगञ्ज घटनाको सत्यतथ्य बाहिर ल्याई कानुनअनुसार दोषीमाथि कारबाही गरिने दोहोर्‍याए।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस