२०८३ श्रावण १५ गते, शुक्रबार १९:१९

वीरगन्जमा आज साँझ ५ बजेदेखि भोलि बिहान ६ बजेसम्म निषेधाज्ञा जारी

वीरगन्ज

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाका मुख्य शहरी क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयानुसार आज साँझ ५:०० बजेदेखि भोलि साउन १६ गते बिहान ६:०० बजेसम्मका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा हस्ताक्षरित आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञा लागू गरिएको हो।

आदेशानुसार तोकिएको समय र क्षेत्रभित्र ५ जनाभन्दा बढी मानिसहरू जम्मा वा भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।

निषेधाज्ञा लागू हुने चार किल्ला क्षेत्र:

  • पूर्व: प्रतिमा चौक, बसपार्क बाईपास रोड
  • पश्चिम: तिलावे पुल
  • उत्तर: गण्डक चौक
  • दक्षिण: शंकराचार्य गेट

स्थानीय प्रशासनले जारी गरेको आदेशको उल्लङ्घन गर्ने जोकोहीलाई नियन्त्रणमा लिई कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी जिल्ला प्रशासन कार्यालय पर्साले दिएको छ। शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै यो कदम चालिएको बताइएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस