२०८३ श्रावण १७ गते, आईतवार १०:२९

अपराध नियन्त्रणमा प्रहरी थप कडा, बूढानीलकण्ठमा गोली चलाएर फरार अभियुक्त पक्राउ

काठमाडौँ –

पछिल्लो समय नेपाल प्रहरीले देशभर अपराध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै फरार अभियुक्त, चोरी–डकैती तथा संगठित अपराधमा संलग्न व्यक्तिविरुद्ध कडा रणनीति अपनाएको छ। सीमाक्षेत्रमा हुने तस्करी नियन्त्रणदेखि देशका विभिन्न स्थानमा हुने चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले आवश्यक पर्दा गोली चलाउनसमेत पछि नहटेको देखिएको छ।

यसैक्रममा काठमाडौँको बूढानीलकण्ठ क्षेत्रमा प्रहरीले गएराति गोली चलाएर एक फरार अभियुक्तलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाका अनुसार गएराति करिब २ बजेतिर प्रहरीले कर्मा तामाङलाई नियन्त्रणमा लिन खोज्दा परिस्थितिअनुसार गोली चलाइएको थियो। गोली तामाङको खुट्टामा लागेको छ भने उनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार तामाङ चोरी तथा लुटपाटका घटनामा संलग्न रहेको आरोपमा खोजी सूचीमा रहेका व्यक्ति हुन्। उनी कैद भुक्तानका क्रममा रहेको अवस्थामा जेनजी आन्दोलनका बेला फरार भएका थिए।

नेपाल प्रहरीले पछिल्ला महिनाहरूमा अपराध नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्दै फरार अभियुक्तको खोजी, सीमाक्षेत्रमा हुने अवैध तस्करी नियन्त्रण तथा संगठित अपराधविरुद्ध विशेष अभियान सञ्चालन गर्दै आएको छ। प्रहरी अधिकारीहरूका अनुसार कानुन कार्यान्वयनका क्रममा आत्मरक्षा तथा अपराधीलाई नियन्त्रणमा लिन आवश्यक देखिएमा कानुनी व्यवस्थाअनुसार बल प्रयोग गर्न प्रहरी पछि नहट्ने नीति अवलम्बन गरिएको छ।

सुरक्षा विश्लेषकहरूका अनुसार प्रहरीको यस्तो सक्रियताले अपराध नियन्त्रणमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै कानुन उल्लंघन गर्नेहरूमा निरुत्साह पैदा गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस