सिरहा–
सुरक्षा अवस्थाको निरन्तर समीक्षा गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिकाको बजार क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबारदेखि आंशिक रूपमा खुकुलो बनाएको छ। पछिल्ला दिनमा सुरक्षा निकायको कडा निगरानी र परिस्थितिमा आएको सुधारपछि सर्वसाधारणको दैनिक जनजीवन सहज बनाउन प्रशासनले यो निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि कर्फ्यु आदेश खुकुलो पारिएको छ। यद्यपि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा निकायको उच्च सतर्कता भने यथावत् रहनेछ।
प्रशासनले स्थानीय परिस्थितिको निरन्तर मूल्याङ्कन भइरहेको जनाउँदै अवस्था पूर्ण रूपमा सामान्य बन्दै गए थप खुकुलो पार्ने वा आवश्यक परे पुनः कडाइ गर्ने निर्णय गरिने स्पष्ट पारेको छ।
गोलबजार भएर सञ्चालन हुने लामो दूरीका सवारीसाधनको आवतजावत सहज बनाउन पनि कर्फ्यु आंशिक रूपमा हटाइएको हो। तर कर्फ्यु खुकुलो पारिएको अवधिमा पाँच जनाभन्दा बढी व्यक्ति समूह बनाएर भेला हुन, प्रदर्शन गर्न वा सार्वजनिक शान्ति र सुरक्षामा असर पर्ने कुनै पनि गतिविधि गर्न कडाइका साथ रोक लगाइएको प्रशासनले जनाएको छ।
प्रशासनले सर्वसाधारणलाई अफवाहमा नलाग्न, सुरक्षा निकायसँग सहकार्य गर्न तथा जारी निर्देशनको पूर्ण पालना गर्न आग्रह गर्दै शान्ति, सामाजिक सद्भाव र सार्वजनिक सुरक्षा कायम राख्नु नै आफ्नो पहिलो प्राथमिकता रहेको जनाएको छ।












