२०८३ श्रावण १७ गते, आईतवार ११:३९

पेरूमा पर्यटक विमान दुर्घटनाग्रस्त, चालक दलसहित १३ जनाको दर्दनाक मृत्यु

काठमाडौं –

पेरूबाट दुःखद खबर आएको छ। विश्वप्रसिद्ध नाज्का लाइन्स अवलोकन गराउँदै गरेको पर्यटक विमान शनिबार दुर्घटनाग्रस्त हुँदा चालक दलसहित १३ जनाको घटनास्थलमै मृत्यु भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इका सहरबाट उडेको विमान नाज्का सहरनजिक पुगेपछि अचानक नियन्त्रण गुमाएर खेतमा खसेको थियो। दुर्घटनालगत्तै विमानमा भीषण आगलागी हुँदा यात्रुहरूलाई उद्धार गर्ने कुनै अवसर नै नपाएको जनाइएको छ।

विमानमा दुई जना पाइलट र ११ जना पर्यटक सवार थिए। दुर्घटनास्थलबाट जलेका शवहरू फेला परेको अधिकारीहरूले बताएका छन्।

हालसम्म मृतकहरूको पहिचान सार्वजनिक गरिएको छैन। उनीहरू कुन–कुन देशका नागरिक थिए भन्ने विवरण पनि सार्वजनिक नभएको जनाइएको छ।

दुर्घटनामा परेको विमान पेरूको एरोडियाना कम्पनीले सञ्चालन गरिरहेको थियो। दुर्घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र प्राविधिक तथा उड्डयन विज्ञहरूको टोलीले अनुसन्धान सुरु गरिसकेको अधिकारीहरूले बताएका छन्। कम्पनीले घटनाबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

के हो नाज्का लाइन्स ?

नाज्का लाइन्स पेरूको राजधानी लिमाबाट करिब ४०० किलोमिटर दक्षिणमा पर्ने नाज्का र पाल्पा मरुभूमिमा रहेका विश्वप्रसिद्ध विशाल भू–आकृतिहरू हुन्। करिब दुई हजार वर्षअघि नाज्का सभ्यताले बनाएको विश्वास गरिने यी आकृतिहरू चराचुरुङ्गी, जनावर, वनस्पति तथा विभिन्न ज्यामितीय आकारमा फैलिएका छन्।

मरुभूमिको सतहबाट यी आकृतिहरू स्पष्ट रूपमा देखिँदैनन्। त्यसैले पर्यटकहरूलाई आकाशबाट अवलोकन गराउन विशेष दृश्यावलोकन उडान सञ्चालन हुँदै आएका छन्। यही दृश्यावलोकन उडानका क्रममा भएको यो दुर्घटनाले विश्व पर्यटन क्षेत्रलाई स्तब्ध बनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस