२०८३ श्रावण १७ गते, आईतवार १२:५९

मधेससहित देशका विभिन्न क्षेत्रमा दुई दिन भारी वर्षाको चेतावनी, बाढी–डुबानको जोखिम बढ्ने

वीरगन्ज

जल तथा मौसम विज्ञान विभागले मधेस प्रदेशसहित देशका विभिन्न क्षेत्रमा आगामी दुई दिन भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गर्दै सतर्क रहन आग्रह गरेको छ। विभागले वर्षासँगै गेग्रान बहाव, बाढी, डुबान तथा पहिरोको जोखिम बढ्न सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो।

विभागका अनुसार आइतबार (साउन १७) मधेस प्रदेशका थोरै स्थानसहित कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभाग, लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्र तथा कर्णाली प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ।

विशेषगरी मधेस प्रदेशका नदी-नाला आसपासका बस्ती, होचा भूभाग र डुबान हुने क्षेत्र उच्च जोखिममा रहने भएकाले स्थानीय बासिन्दा, किसान तथा यात्रुले विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

विभागका अनुसार सोमबार (साउन १८) पनि देशका विभिन्न क्षेत्रमा वर्षा जारी रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी तथा लुम्बिनीका अन्य क्षेत्रमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने विभागले जनाएको छ। साथै विभागले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा पछ्याउन र विपद्को सम्भावित जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस