२०८३ श्रावण १८ गते, सोमबार ११:२९

पाकिस्तानमा बढ्दै आतङ्कवादी हमला : प्रहरी चौकीबाहिर आत्मघाती विस्फोट, १४ जनाको मृत्यु

काठमाडौं –

पाकिस्तानमा पछिल्ला महिनायता आतङ्कवादी आक्रमणका घटना फेरि बढ्दै गएका बेला आइतबार स्वात उपत्यकामा भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकास्थित कबाल सहरमा रहेको प्रहरी चौकीबाहिर भएको विस्फोटले सुरक्षा अवस्थाप्रति थप चिन्ता बढाएको छ। पछिल्लो समय विशेषगरी खैबर पख्तुनख्वा र बलुचिस्तान क्षेत्रमा आतङ्कवादी गतिविधि बढ्दै जाँदा पाकिस्तान सुरक्षा चुनौतीसँग जुधिरहेको छ।

प्रहरीका अनुसार विरोध प्रदर्शनका लागि भेला भएका सयौँ नागरिक नजिकै रहेका बेला आत्मघाती आक्रमणकारी प्रहरी चौकीको प्रवेशद्वारसम्म पुगेका थिए। स्वात जिल्लाका प्रहरी प्रमुख उमर खानका अनुसार सुरक्षाकर्मीले खानतलासी गर्न खोजेपछि आक्रमणकारीले आफूलाई विस्फोट गराएका थिए।

विस्फोट सभाको अन्तिम चरणमा भएको थियो। हिंसात्मक घटनाविरुद्ध सरकारसँग कडा सुरक्षा व्यवस्था र प्रभावकारी कारबाहीको माग गर्दै स्थानीय बासिन्दा प्रदर्शनमा सहभागी भएका थिए। विस्फोटसँगै घटनास्थलमा भागदौड मच्चिएको थियो।

स्वातका डेपुटी इन्स्पेक्टर जनरल अफ पुलिस फिदा हुसेनका अनुसार घटनाको जिम्मेवारी हालसम्म कुनै पनि समूहले सार्वजनिक रूपमा लिएको छैन। सुरक्षा निकायले घटनाको अनुसन्धान तीव्र बनाएको जनाएको छ।

कुनै समय तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) को बलियो आधार क्षेत्र मानिएको स्वात उपत्यकामा पछिल्ला वर्षहरूमा हिंसात्मक गतिविधि फेरि बढ्न थालेका छन्। सन् २००९ मा पाकिस्तानी सेनाले ठूलो सैन्य अभियान सञ्चालन गरेर उक्त क्षेत्रमा विद्रोही समूहको प्रभाव कमजोर पारेको थियो। तर हालका महिनाहरूमा पुनः भइरहेका आतङ्कवादी हमलाले सुरक्षा चुनौती गम्भीर बन्दै गएको संकेत गरेका छन्।

घटनापछि पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शेहबाज शरीफले आत्मघाती आक्रमणको कडा निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै दोषीलाई कानुनी दायरामा ल्याउने र यस्ता घटनालाई नियन्त्रण गर्न सुरक्षा व्यवस्था थप कडा बनाइने प्रतिबद्धता जनाएका छन्।अलजजिरा

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस