काठमाडौं –
भारतको बिहार राज्यस्थित सहरसा जिल्लामा सोमबार बिहान यात्रुबाहक रेलमा आगलागी हुँदा ठूलो दुर्घटना हुनबाट जोगिएको छ। घटनामा रेलका केही डिब्बामा भने उल्लेखनीय क्षति पुगेको छ।
आगलागी सहरसा जिल्लाको सिमरी बख्तियारपुर रेल्वे स्टेशनमा भएको हो। सोमबार बिहान प्लेटफर्म नम्बर २ मा सहरसाबाट समस्तीपुरतर्फ जान तयारी अवस्थामा रहेको यात्रुबाहक रेलमा एक्कासि धुवाँ निस्कन थालेपछि यात्रुहरू त्रसित बनेका थिए।
बिहान करिब ५ः३० बजे रेलको बीच भागमा रहेको इन्जिनतर्फबाट सुरुमा धुवाँ निस्किएको र त्यसपछि आगोको ज्वाला देखिन थालेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। आगो फैलिन थालेपछि रेलभित्र रहेका यात्रुहरूले हतारहतार रेलबाट हाम फालेर आफ्नो ज्यान जोगाएका थिए।
समयमै यात्रुहरू सुरक्षित रूपमा बाहिर निस्कन सफल भएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनापछि रेल्वे प्रशासन र दमकल टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो। आगलागीको कारणबारे अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।











