२०८३ श्रावण १८ गते, सोमबार १२:१६

निषेधाज्ञा हटेसँगै जनकपुरधामको जनजीवन सामान्य बन्दै, बजार र यातायात पुनः सञ्चालनमा

जनकपुर-

स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा हटेसँगै जनकपुरधामसहित धनुषाका प्रभावित क्षेत्रमा जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। बजारमा चहलपहल बढ्न थालेको छ भने सार्वजनिक यातायात, व्यापार–व्यवसाय र दैनिक गतिविधि पनि नियमित अवस्थामा फर्किन थालेका छन्।

जिल्ला प्रशासन कार्यालय धनुषाले सोमबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा हटाएको हो। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि जिल्ला सुरक्षा समितिले सुरक्षा अवस्थाको समीक्षा गर्दै निषेधाज्ञा हटाउने निर्णय गरेको जनाएको छ।

स्थानीय प्रशासनका अनुसार साउन १६ गतेदेखि सम्भावित अप्रिय घटना रोक्न जनकपुरधाम उपमहानगरपालिका तथा आसपासका क्षेत्रमा निषेधाज्ञा लागू गरिएको थियो। आन्दोलनरत पक्ष र सरकारबीच सहमति भएपछि आन्दोलन स्थगित भएको र सुरक्षा अवस्था सुधारिएसँगै प्रतिबन्ध हटाइएको हो।

निषेधाज्ञा हटेसँगै पसलहरू खुल्न थालेका छन्, सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन् र सर्वसाधारणको आवतजावत पनि सहज बन्दै गएको छ। केही दिनदेखि प्रभावित भएको आर्थिक तथा सामाजिक गतिविधि पुनः लयमा फर्किन थालेपछि स्थानीयवासीले राहत महसुस गरेका छन्।

यसैबीच, धनुषासँग जोडिएका नेपाल–भारत सीमा नाकाबाट नेपाल प्रवेश गर्ने सबै व्यक्तिका लागि भने परिचयपत्र अनिवार्य गरिएको छ। जिल्ला सुरक्षा समितिले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन यस्तो निर्णय गरेको जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार अब सीमा नाकाबाट नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले आफ्नो पहिचान खुल्ने परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्नेछ। सुरक्षा निकायले परिचयपत्रको आधारमा अभिलेख राखेपछि मात्र नेपाल प्रवेशको अनुमति दिने व्यवस्था लागू गरिएको प्रशासनले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस