२०८३ श्रावण १८ गते, सोमबार २२:३२

भाजपाको बलियो गढ मानिने बाँकीपुरमा प्रशान्त किशोरको शानदार जित: १९ हजार बढी मतान्तरले नीरज कुमार पराजित

एजेन्सी

भारतीय राजनीतिमा कुशल चुनावी रणनीतिकारका रूपमा परिचित जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर (पीके) ले आफ्नो पहिलो चुनावी परीक्षामै ठूलो सफलता हात पारेका छन्। बिहारको बाँकीपुर विधानसभा सिटमा भएको उपनिर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार नीरज कुमारलाई १९,२४६ भोटको फराकिलो अन्तरले पराजित गर्दै किशोरले शानदार जित दर्ता गराएका हुन्।

सन् १९९५ देखि भाजपाको बलियो गढ मानिँदै आएको यस क्षेत्रमा किशोरले कुल ६३,९४६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी भाजपाका नीरज कुमारले ४४,७०० मत मात्र पाए। यसअघि भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन यस सिटबाट लगातार ५ पटक विधायक बनेका थिए। उनी राज्यसभामा निर्वाचित भएपछि यो सिट खाली भएको थियो।

‘जेनजी’ र विद्यार्थी आन्दोलनको प्रभाव

चुनावी नतिजापछि भारतीय विश्लेषकहरूले यस जितलाई भारतमा हालै भएको ‘जेनजी’ तथा विद्यार्थी आन्दोलनको प्रभावसँग जोडेर विश्लेषण गरिरहेका छन्।

भारतमा नीट (NEET) परीक्षाको प्रश्नपत्र चुहावट, बारम्बार रद्द हुने भर्ती तथा प्रवेश परीक्षा, बेरोजगारी र परीक्षा प्रणालीप्रतिको अविश्वासलाई लिएर ठूलो विद्यार्थी आन्दोलन भएको थियो। जुलाई २० को संसद् मार्चमा ५० हजारभन्दा बढी सहभागी भएका थिए। बाँकीपुर पटना सहरको मुख्य शैक्षिक केन्द्र र प्रतिस्पर्धी परीक्षाको तयारी गर्ने युवाहरूको बाक्लो उपस्थिति भएको क्षेत्र भएकाले, किशोरले विद्यार्थीका आक्रोश र रोजगारीका मुद्दालाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएका थिए।

जितपछिको प्रतिक्रिया

चुनावी जितपछि प्रतिक्रिया दिँदै प्रशान्त किशोरले भने, “मेरो विधायक बन्दैमा बाँकीपुर रातोरात बेङ्गलोर त बन्दैन, तर तपाईंहरूले आगामी दुई-तीन महिनामै यहाँ केही सुधार पक्कै देख्नुहुनेछ।”

उनले अगाडि थपे, “बाँकीपुरका जनताले भाजपा नेतृत्वलाई स्पष्ट सन्देश दिएका छन्— कृपया बिहारका लागि एक जना राम्रो व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गर्नुहोस्। बिहारीहरू केवल मजदुर बन्नका लागि जन्मिएका होइनन्।”

प्रशांत किशोरको सफलताका ६ मुख्य कारण:

१. युवा तथा विद्यार्थीको मुद्दालाई प्राथमिकता: कुल ३.७९ लाख मतदातामध्ये करिब १.२ देखि १.३५ लाख मतदाता १८–२९ वर्ष उमेर समूहका रहेकाले NEET परीक्षा चुहावट र बेरोजगारीको मुद्दा निर्णायक बन्यो।

२. भाजपाको उम्मेदवार चयनमा अन्योल: भाजपाले सुरुमा अभिषेककुमार सिन्हालाई उम्मेदवार बनाएर दर्तापछि हटाउँदै अन्तिम समयमा नीरजकुमार सिन्हालाई अघि सारेको थियो। यसले सङ्गठनभित्र अन्योल र कमजोर तयारीको सन्देश दियो।

३. भाजपाको ‘अति आत्मविश्वास’: लगातार जित्दै आएको क्षेत्र भएकाले भाजपाले यसलाई आफ्नो सुरक्षित किल्ला मान्ने ‘ओभर-कन्फिडेन्स’ राख्यो, जसको फाइदा किशोरले उठाए।

४. कम मतदान र प्रतिबद्ध समर्थक: बाँकीपुरमा करिब ३४.३ प्रतिशत मात्रै मतदान भयो। कम मतदान भएको अवस्थामा किशोरका प्रतिबद्ध समर्थकहरू सक्रिय रूपमा मतदान केन्द्र पुगे।

५. आरजडी कमजोर हुँदा विरोधी मत किशोरतर्फ: राष्ट्रिय जनता दल (RJD) का उम्मेदवार रेखा कुमारी तेस्रो स्थानमा निकै पछाडि परिन्। भाजपाविरोधी मत परम्परागत रूपमा राजदमा नगई किशोरतर्फ सोझियो।

६. प्रशान्त किशोर स्वयं उम्मेदवार बन्नु: सन् २०२५ को बिहार विधानसभा निर्वाचनमा जन सुराजले २३८ स्थानमा उम्मेदवार उठाउँदा सिट जित्न नसके पनि, यसपटक किशोर स्वयं मैदानमा उत्रिँदा उनको व्यक्तिगत छवि र घरदैलो अभियानले ठूलो भूमिका खेल्यो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस