२०८३ श्रावण १९ गते, मंगलवार ११:२३

‘उद्योगीलाई अपराधीजस्तो व्यवहार’- विराटनगर घटनापछि निजी क्षेत्र आक्रोशित, लगानीको वातावरण बिग्रँदै गएको चेतावनी

विराटनगर-

राज्यका निकायले उद्योगी–व्यवसायीलाई सधैं शंकाको दृष्टिले हेर्ने र अनुसन्धानका नाममा अपराधीजस्तै व्यवहार गर्ने प्रवृत्तिले निजी क्षेत्रको मनोबल कमजोर बनाउनुका साथै राष्ट्रिय अर्थतन्त्र र लगानीको वातावरणमा समेत नकारात्मक असर पारिरहेको भन्दै उद्योगी–व्यवसायीले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

विराटनगरस्थित प्रतिष्ठित औद्योगिक घराना देवेनरा समूहका संस्थापक बेनीगोपाल मुन्दडाको निवासमा सोमबार बिहान ठूलो संख्यामा प्रहरी परिचालन गरी करिब पाँच घण्टासम्म खानतलासी गरिए पनि कुनै गैरकानुनी वस्तु वा प्रमाण फेला नपरेपछि निजी क्षेत्रले राज्यको कार्यशैलीमाथि प्रश्न उठाएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विशेष सूचनाका आधारमा खानतलासी गरिएको भए पनि खोजिएको भनिएको कुनै सामग्री बरामद हुन सकेन। प्रहरीले अनुसन्धान भने जारी रहेको जनाएको छ।

घटनापछि उद्योगी–व्यवसायीहरूले कानुन कार्यान्वयनमा आफूहरूको कुनै आपत्ति नरहेको स्पष्ट पार्दै अपुष्ट सूचनाका आधारमा प्रतिष्ठित उद्योगीलाई सार्वजनिक रूपमा अपराधीजस्तो प्रस्तुत गर्ने शैलीले निजी क्षेत्रको सम्मानमा ठेस पुग्ने बताएका छन्।

‘यस्तो व्यवहारले लगानीकर्ता निरुत्साहित हुन्छन्’

नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडाले निजी क्षेत्र अहिले नै आर्थिक मन्दी, कमजोर बजार र लगानीको अनिश्चिततासँग जुधिरहेको अवस्थामा यस्ता घटनाले थप असुरक्षा सिर्जना गरेको बताए।

उनका अनुसार अनुसन्धानका नाममा सडक बन्द गर्ने, ठूलो संख्यामा प्रहरी परिचालन गर्ने र अन्त्यमा केही पनि बरामद नहुने घटनाले उद्योगी–व्यवसायीलाई अपराधीसरह व्यवहार गरिएको सन्देश जाने गरेको छ। यसले स्वदेशी तथा विदेशी लगानीकर्तामा समेत नकारात्मक प्रभाव पार्ने उनको भनाइ छ।

चार व्यावसायिक संस्थाको संयुक्त आपत्ति

घटनापछि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेश, मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त विज्ञप्ति जारी गर्दै प्रहरीको कार्यशैलीप्रति आपत्ति जनाएका छन्।

उनीहरूले अपुष्ट सूचनाका आधारमा गरिएको छापामा कुनै प्रमाण फेला नपर्नुले प्रहरीको सूचना संयन्त्रको विश्वसनीयतामाथि नै प्रश्न उठाएको उल्लेख गरेका छन्।

संयुक्त विज्ञप्तिमा कानुन कार्यान्वयन राज्यको दायित्व भए पनि त्यस क्रममा नागरिकको सम्मान, व्यावसायिक प्रतिष्ठा, प्राकृतिक न्याय र कानुनी सुनिश्चितताको समान रूपमा संरक्षण हुनुपर्ने उल्लेख गरिएको छ।

अर्थतन्त्रमा दीर्घकालीन असर पर्ने चेतावनी

निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग–व्यवसायलाई शंकाको दृष्टिले हेर्ने प्रवृत्ति कायम रहे स्वदेशी लगानी विस्तार, नयाँ उद्योग स्थापना र रोजगारी सिर्जनामा प्रतिकूल असर पर्ने चेतावनी दिएका छन्।

उनीहरूका अनुसार सरकारले एकातिर निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड भन्दै लगानी आकर्षित गर्ने नीति सार्वजनिक गर्ने, अर्कोतर्फ बिना पर्याप्त आधार प्रतिष्ठित उद्योगीमाथि अपराधीजस्तो व्यवहार गर्ने अवस्था कायम रहँदा सरकारको नीति र व्यवहारबीच विरोधाभास देखिएको छ।

उद्योगी–व्यवसायीहरूले सरकारसँग उद्योग–व्यवसायलाई शंकाको दृष्टिले होइन, विश्वास, पारदर्शिता, कानुनी सुनिश्चितता र सहकार्यको वातावरणमा अघि बढाउने नीति अवलम्बन गर्न आग्रह गरेका छन्। उनीहरूको भनाइमा निजी क्षेत्रमाथिको विश्वास कमजोर भए त्यसको प्रत्यक्ष असर राष्ट्रिय अर्थतन्त्र, रोजगारी, उत्पादन र लगानीको वातावरणमा पर्नेछ।

प्रतिक्रिया

‘उद्योगीलाई अपराधीजस्तो व्यवहार’- विराटनगर घटनापछि निजी क्षेत्र आक्रोशित, लगानीको वातावरण बिग्रँदै गएको चेतावनी

विराटनगर- राज्यका निकायले उद्योगी–व्यवसायीलाई सधैं शंकाको दृष्टिले हेर्ने र अनुसन्धानका

‘उद्योगीलाई अपराधीजस्तो व्यवहार’- विराटनगर घटनापछि निजी क्षेत्र आक्रोशित, लगानीको वातावरण बिग्रँदै गएको चेतावनी

विराटनगर- राज्यका निकायले उद्योगी–व्यवसायीलाई सधैं शंकाको दृष्टिले हेर्ने र अनुसन्धानका

पोडकास्ट सुन्नुहोस