२०८३ श्रावण १९ गते, मंगलवार १३:४१

मधेश प्रदेशभर ग्यासको हाहाकार: उपभोक्ता र साना व्यवसायी सास्ती भोग्न बाध्य, आपूर्ति प्रभावित भएको व्यवसायीको दाबी

वरिगन्ज-

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यासको आपूर्ति प्रभावित भएपछि सर्वसाधारण उपभोक्ता र साना व्यवसायीहरू दैनिक जीवनमा गम्भीर सास्ती भोग्न बाध्य भएका छन्।

मधेश प्रदेशको मुख्य सहरहरू जनकपुरधाम, वरिगन्ज, लहान, राजविराज, मलंगवा, गौर, कलैया लगायतका बजारहरूमा विगत एक सातादेखि ग्यास सहज रूपमा उपलब्ध हुन सकेको छैन। ग्यास नपाएपछि उपभोक्ताहरू खाली सिलिन्डर बोकेर एक डिलरबाट अर्को डिलरसम्म धाउन बाध्य भइरहेका छन्।

विद्यार्थी, मजदुर र साना व्यवसायी मारमा

ग्यास अभावका कारण सर्वसाधारण घरपरिवारसहित डेरा गरी बस्ने विद्यार्थी, स्वास्थ्यकर्मी, ज्यालादारी मजदुर तथा साना होटल र रेष्टुरेन्ट व्यवसाय प्रत्यक्ष प्रभावित भएका छन्। जनकपुरधामका रामानन्द चोक, पिडारी चोक, थापा चोक, भानु चोक, मुरली चोक, पेठिया बजार लगायतका क्षेत्रमा रहेका अधिकांश ग्यास डिलरहरूले ग्यास सकिएको भन्दै उपभोक्तालाई नाम टिपाएर फर्काउने गरेका छन् भने कतिपयले पसल नै बन्द गरेका छन्।

उपभोक्ताहरूका अनुसार एक साताभन्दा बढी समयदेखि कुनै पनि कम्पनीको ग्यास नियमित वितरण हुन सकेको छैन। ग्यास नहुँदा केही साना होटल सञ्चालकहरूले सेवा नै अस्थायी रूपमा बन्द गर्नुपर्ने अवस्था आएको बताएका छन्।

कालोबजारी र कृत्रिम अभावको आशङ्का

स्थानीय उपभोक्ताहरूले बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने नियत राखिएको आशङ्का व्यक्त गरेका छन्। सुनसरी घटनापछि केही दिन बजार बन्द रहँदा बिक्रीसमेत न्यून भएको अवस्थामा मौज्दात ग्यास एकाएक कसरी सकियो भन्दै उनीहरूले प्रश्न उठाएका छन्। सर्वसाधारणलाई ग्यास उपलब्ध नगराइए पनि केही ठूला होटलहरूलाई बढी मूल्यमा ग्यास बिक्री भइरहेको गुनासोसमेत उठ्न थालेको छ।

उपभोक्ता अधिकारकर्मीहरूले ग्यासको वास्तविक मौज्दात र वितरण प्रक्रियाको तत्काल छानबिन गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले जिल्ला प्रशासन, नेपाल आयल निगम र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई संयुक्त रूपमा बजार अनुगमन तीव्र बनाउन आग्रह गरेका छन्।

रुट परिवर्तन र बन्द/हडतालले ढुवानीमा ढिलाइ: व्यवसायी

ग्यास व्यवसायी सङ्घ धनुषाका अध्यक्ष फुलदेव पण्डितले भने बजारमा कृत्रिम अभाव सिर्जना नगरिएको दाबी गरेका छन्। सुनसरी घटनापछिको कर्फ्यु, निषेधाज्ञा र यातायात अवरोधका कारण करिब एक सातासम्म ग्यास ट्याङ्करहरू सञ्चालन हुन नसकेको उनले जानकारी दिए।

पण्डितका अनुसार भारतको बरौनीबाट हुने प्रत्यक्ष ढुवानी प्रभावित भई हाल हल्दिया र मथुरा लगायतका अन्य रुटबाट ग्यास ल्याउनुपर्दा ढुवानीमा बढी समय लागेको छ। साथै, हाफ सिलिन्डरबाट फुल सिलिन्डर व्यवस्थापन प्रणालीमा गरिएको परिवर्तनले पनि आपूर्तिमा केही ढिलाइ भएको र अब पछिल्ला दुई दिनदेखि नयाँ ग्यास आउन थालेकाले आपूर्ति क्रमशः सहज हुने उनले बताए।

अनियमितता भए सूचना दिन आयल निगमको अपिल

यता नेपाल आयल निगमले बजारमा कुनै डिलर वा विक्रेताले ग्यास उपलब्ध नगराएको वा अनियमितता गरेको पाइएमा तत्काल निगम वा सम्बन्धित निकायमा सूचना दिन उपभोक्ताहरूसँग आग्रह गरेको छ। नेपालमा हाल नेपाल ग्यास, कोशी, नोबेल, लुम्बिनी, एभरेस्ट, मनोज, सुगम लगायत करिब ५६ वटा एलपीजी बोटलिङ कम्पनीहरू सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया

मधेश प्रदेशभर ग्यासको हाहाकार: उपभोक्ता र साना व्यवसायी सास्ती भोग्न बाध्य, आपूर्ति प्रभावित भएको व्यवसायीको दाबी

वरिगन्ज- मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यासको आपूर्ति

मधेश प्रदेशभर ग्यासको हाहाकार: उपभोक्ता र साना व्यवसायी सास्ती भोग्न बाध्य, आपूर्ति प्रभावित भएको व्यवसायीको दाबी

वरिगन्ज- मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यासको आपूर्ति

पोडकास्ट सुन्नुहोस