२०८३ श्रावण २० गते, बुधबार ११:१७

मधेसको सीमामा बढ्दो अवैध नगद ओसारपसार : सर्लाहीबाट स्रोत नखुलेको १३ लाखसहित दुई जना पक्राउ

सर्लाही-

मधेस प्रदेशका नेपाल–भारत सीमावर्ती क्षेत्रमा स्रोत नखुलेको नगदको अवैध ओसारपसार बढ्दै गएको संकेत देखिएको छ। पछिल्लो घटनामा सर्लाहीको सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बलको बिओपी संग्रामपुरबाट खटिएको गस्ती टोलीले मंगलबार दिउँसो सर्लाहीको पर्सा गाउँपालिका–६ स्थित सीमा क्षेत्रमा नियमित चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा पर्सा गाउँपालिका–६ निवासी २३ वर्षीय असपाक साह र महोत्तरीको श्रीपुर नगरपालिका–४ निवासी ४६ वर्षीय साजन मुखिया रहेका छन्। उनीहरूको साथबाट स्रोत खुल्न नसकेको १३ लाख रुपैयाँ नगद तथा दुई थान मोबाइल फोन बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद नगदको वैधानिक स्रोत पुष्टि हुन नसकेपछि दुवैलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला भन्सार कार्यालय सर्लाहीमा बुझाइएको छ। रकमको वास्तविक स्रोत, गन्तव्य तथा सम्भावित अवैध कारोबारसँगको सम्बन्धबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पछिल्ला महिनाहरूमा मधेस प्रदेशका विभिन्न सीमावर्ती जिल्लाबाट ठूलो परिमाणमा स्रोत नखुलेको नगद बरामद हुने घटनाहरू बढ्दै गएकाले सीमा क्षेत्रमा अवैध मुद्रा ओसारपसार नियन्त्रण सुरक्षा निकायका लागि चुनौती बन्दै गएको छ। सुरक्षा निकायले सीमामा निगरानी र चेकजाँच थप कडा बनाएको जनाएको छ।

प्रतिक्रिया

नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति, अनसन

नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति, अनसन

विशेष

पोडकास्ट सुन्नुहोस