वीरगञ्ज–
भारतीय नम्बरको ग्यास ट्याङ्करले ई–रिक्सालाई ठक्कर दिँदा गएराति वीरगञ्जमा नौ जना घाइते भएका छन्।
हुलाकी राजमार्गअन्तर्गत वीरगञ्ज महानगरपालिका–२४ बहुअरी चोकनजिक आरजे १४ जीई ८७१० नम्बरको भारतीय ग्यास ट्याङ्करले ना २ ह ६६८२ नम्बरको ई–रिक्सालाई पछाडिबाट ठक्कर दिँदा ई–रिक्सामा सवार नौ जना यात्रु घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार वीरगञ्जबाट ड्राइपोर्टतर्फ जाँदै गरेको ई–रिक्सालाई सोही दिशाबाट आउँदै गरेको भारतीय नम्बरको ग्यास ट्याङ्करले ठक्कर दिएको थियो।
दुर्घटनापछि फरार भएको ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने चालक भारतको बिहार राज्य, मुजफ्फरपुर जिल्ला निवासी ४८ वर्षीय धनेश्वर राय रहेका छन्। स्वास्थ्य परीक्षणका क्रममा चालकले मादक पदार्थ सेवन गरेको पुष्टि भएको डीएसपी मल्लले जानकारी दिए।
दुर्घटनामा घाइते भएकाहरूमा पर्साको पोखरिया नगरपालिका–९ निवासी माधो महतो, शम्भु महतो र विद्यार्थी ठाकुर हजाम, पोखरिया नगरपालिका–१ निवासी रामबिलास मुखिया, वीरगञ्ज महानगरपालिका–२५ सिर्सिया निवासी राजा हुसैन, बिन्दवासिनी गाउँपालिका–३ इटियाही निवासी मोहन दास, ई–रिक्सा चालक राजेश पटेल, कासी पासवान तथा भारतको बिहार राज्य, रक्सौल निवासी दिपु कुमार रहेका छन्।
घाइते सबैलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी न्युरो अस्पतालमा भर्ना गरिएको थियो। तीमध्ये कासी पासवान र दिपु कुमारलाई थप उपचारका लागि नारायणी अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ट्याङ्करको ठक्करबाट घाइतेहरूको अनुहार, हात, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइतेहरूको उपचार जारी रहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।











