२०८३ श्रावण २२ गते, शुक्रबार १६:११

अव्यवस्थित इन्टरनेट तार व्यवस्थापनमा वीरगन्ज महानगरको कडा कदम: सोमबार पुनः बृहत् छलफल हुने

​वीरगन्ज।
वीरगन्ज महानगरपालिकालाई सफा, सुन्दर र सुरक्षित सहर बनाउने अभियानअन्तर्गत महानगरपालिकाले नगरभित्र जेलिएका अव्यवस्थित इन्टरनेटका तारहरू व्यवस्थापन गर्न तीव्र सक्रियता देखाएको छ। लामो समयदेखि सहरको सौन्दर्य बिर्गार्नुका साथै आगलागी र दुर्घटनाको जोखिम बढाएका तारहरू नियन्त्रण तथा व्यवस्थापनका लागि महानगरले कडा रणनीति अपनाएको हो।

​इन्टरनेटको केबलका कारण हुन सक्ने सम्भावित आगलागी र दुर्घटना न्यूनीकरणका लागि आज वीरगञ्ज महानगरपालिका र इन्टरनेट सेवा प्रदायक (ISP) हरूबीच प्रारम्भिक छलफल सम्पन्न भएको छ। कार्यवाहक प्रमुख इम्तियाज आलम र प्रमुख प्रशासकीय अधिकृत वसन्त बोहराको विशेष उपस्थितिमा बसेको आजको बैठकमा सो विषयमा गम्भीर मन्थनसहित थप निष्कर्ष र निर्णयका लागि आउँदो सोमबार पुनः बृहत् छलफल गर्ने निर्णय भएको महानगरले जनाएको छ।

​नगरको सुरक्षा र सौन्दर्यीकरणलाई पहिलो प्राथमिकतामा राखिएको बताउँदै कार्यवाहक प्रमुख इम्तियाज आलमले भन्नुभयो, “अव्यवस्थित तारका कारण सहर कुरुप बन्नुका साथै आगलागी र सवारी दुर्घटनाको जोखिम उच्च बनेको छ। नागरिकको सुरक्षा र सहरको सुन्दरतासँग कुनै सम्झौता हुँदैन। यसलाई हामीले अभियानकै रूपमा अगाडि बढाएका छौँ, सोहीअनुरूप आज फलदायी छलफल भयो र सोमबार पुनः बसेर दीर्घकालीन समाधान निकालिनेछ।”

​महानगरपालिकाले सहर सुधारका लागि चालेको यो सकारात्मक र दोहोरो सुरक्षा केन्द्रित कदमको स्थानीयबासीले प्रशंसा गरेका छन्। सोमबार बस्ने बृहत् बैठकपछि सेवा प्रदायकहरूसँगको सहकार्यमा अव्यवस्थित र प्रयोगविहीन तारहरू हटाउने तथा व्यवस्थित गर्ने काम तीव्र रूपमा अघि बढ्ने महानगरले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस