बाजुरा –
धर्तीको भू-स्वर्ग बाजुराको पर्यटकीय, ऐतिहासिक र धार्मिक आस्थाको धरोहर बडी मालिकामा यस वर्षको जनैपूणिर्मा मेला पूजा आरम्भ भदौ १ गते अर्थात् श्रावण शुक्ल पक्षको पञ्चमी तिथिबाट सुरु हुने भएको छ ।
बडी मालिकामा मुख्य पूजा जनपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दर्शीका दिन हुने गर्छ । मुख्य पूजा भदौ ११ गते भए पनि तिर्थालु भक्तजनको भिडलाई मध्यनजर गर्दै भदौ १ गते श्रावण शुक्ल पक्षको पञ्चमी तिथिको दिन यज्ञ स्थापना गरेर पूजा आरम्भ गरिने मन्दिरका पुजारी नेत्र प्रसाद उपाध्यायले बताए ।
सदरमुकाम मार्तडीमा शुक्रबार भएको सर्वपक्षीय छलफलमा बोल्दै पुजारी उपाध्यायले केही दिन अघिबाट पूजा आरम्भले दर्शनार्थीलाई बडी मालिका माताको दर्शनमा सहयोग पुग्ने बताएका हुन् । सर्वपक्षीय बडी मालिका र बुढीनन्दामा लाग्ने मेलाको उचित व्यवस्थापन गर्नुपर्ने निष्कर्ष निकालिएको थियो ।
धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको बडी मालिका समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ । पर्यटकीय सम्भावना बोकेका २२ पाटन, त्रिवेणी, नाटेश्वरी बडीमालिकाका धरोहरका रूपमा परिचित छन् ।
नेपाली सेनाले करिब २ करोडको लागतमा प्यागोडा शैलीमा बडी मालिका माताको मन्दिर निर्माण गरेकोले बडी मालिका थप प्रख्यात बनेको छ ।
बाजुराको बडीमालिका धर्तीको भू—स्वर्गको रूपमा परिचित छ । धार्मिक आस्थाको धरोहर बडी मालिकामा हरेक वर्ष जनैपूणिर्माको अवसरमा पूजा हुने गर्छ।गत वर्ष मुख्य पूजा साउन २३ गते भए पनि १४ गतेबाटै नवाह लगाएर पूजा आरम्भ गरिएको थियो । बडी मालिका माताको दर्शनको लागी देशका विभिन्न जिल्ला सहित छिमेकी देश भारतबाट समेत दर्शनार्थी आउने गर्छन् ।
गत वर्ष करिब ५० हजार दर्शनार्थीहरुले दर्शन गरेका थिए ।
यहाँ बाजुरा, डोटी र जुम्लाबाट पूजा सामग्रीसहित सरकारी टोली जाने परम्परा रहेको छ । पहिलेको तुलनामा पछिल्ला दिनहरूमा पर्यटकको आकर्षण भने बढ्दै गएको छ । प्यागोडा शैलीको कलात्मक मन्दिर नै मुख्य आकर्षकको केन्द्रको रूपमा छ ।
वर्तमान नेपाल सरकारका प्रधानमन्त्री बालेन शाहले चुनावी अभियानका क्रममा धनगढीमा बडीमालिकालाई ‘स्विट्जरल्यान्ड बाउ’ भनेर सम्बोधन गरेपछि पनि यो क्षेत्र विश्वभर थप चर्चामा आएको हो।उनको त्यही सानो शब्दले बडी मालिका विश्वभर चिनिनुका साथै पर्यटकको मुख्य केन्द्र बन्दै गएको स्थानीय पथ९प्रदर्शक गाइड नर बहादुर रावलले बताए ।

यहाँ लोपन्मुख प्रजातिका वन्य जन्तु तथा पशु पंक्षीहरु (डाँफे, मुनाल, कस्तुरी, झारल आदि) पनि भेटिन्छन् ।
बडीमालिका माताको दर्शनले मागेको वर प्राप्त हुने,मनको मनोकाङ्क्षा पूरा हुने, रोग,व्यादी हट्ने पुत्र नभएकालाई पुत्र लाभ हुने धार्मिक विश्वासहरू रहेको छ ।बाजुराको मल्ला गिरी पर्वत (बडी मालिका) मा सतीदेवीको बायाँ कुम पतन भई त्यही मल्लागिरीमा बडिमालिकाको मन्दिर स्थापना गरेर पूजा गर्न थालिएको जनविश्वास छ ।

बडी मालिका प्राकृतिक सौन्दर्ययता र धार्मिक हिसाबले निकै महत्त्वपूर्ण छ।वरपरको प्राकृतिक सौन्दर्ययताले पर्यटकको मन तान्ने गर्छ । हिउँदमा हिउँ र बर्षातको समय कुहिरोको घुम्टोमा सजिने बडी मालिका साँच्चिकै प्रकृतिको एक अद्भुत वरदान समेत हो ।
हरियाली फाँटमा भेँडा र घोडाका बथान देख्न सकिन्छ।बडी मालिका स्वर्ग भित्रको अर्को नयाँ संसारको रूपमा समेत परिचित छ ।












