काठमाडौँ–
सरकार सम्हालेको चार महिनापछि प्रधानमन्त्री बालेन शाहले दुई छिमेकी मुलुकका राजदूतहरूसँग एकल (छुट्टाछुट्टै) भेटघाट गरेका छन्। पदभार ग्रहण गरेयता नेपालस्थित विदेशी कूटनीतिज्ञहरूसँग संयुक्त रूपमा मात्रै भेटघाट गर्दै आएका प्रधानमन्त्रीले पहिलोपटक छिमेकी देशका राजदूतहरूलाई छुट्टै भेट्ने अवसर दिएका हुन्।
विगतमा प्रधानमन्त्री तथा शीर्ष नेताहरूले कूटनीतिक मर्यादा (प्रोटोकल) को ख्याल नगरी जुनसुकै बेला विदेशी राजदूतहरूलाई सीधै भेट्ने परम्परा रहेकोमा बालेनले त्यसलाई तोडेर भेटघाटलाई व्यवस्थित गर्न खोजेको विश्लेषण गरिएको थियो। तर, सुरुवाती चरणमा सबै देशका प्रतिनिधिहरूसँग एकैनासको संयुक्त भेटघाट गर्दा छिमेकी देशहरूसँगको कूटनीतिक गम्भीरता र संवेदनशीलता कायम हुन नसकेको टिप्पणीसमेत हुन थालेको थियो।
पूर्वप्रधानमन्त्री सुशील कोइराला र शेरबहादुर देउवाका विदेश मामिला सल्लाहकार रहिसकेका पूर्वराजदूत दिनेश भट्टराईले प्रधानमन्त्रीको यो पछिल्लो कदमलाई सही भनेका छन्। उनले भने, “प्रधानमन्त्रीले सही कदम चाल्नुभएको छ, जुन पहिल्यै हुनुपर्ने थियो, अलि ढिलो भयो। छिमेकीहरूसँगको समझदारी कतै हामीले ‘लूज’ गर्यौँ कि भन्ने महसुस गरेर भेट्न थाल्नुभएको देखिन्छ।”
पूर्वराजदूत भट्टराईका अनुसार कूटनीतिक मर्यादालाई व्यवस्थित र सन्तुलित बनाएर पनि छिमेकी देशहरूलाई प्राथमिकताको सन्देश दिन सकिन्छ। “छिमेकीसँगको सम्बन्धलाई हामीले सधैँ प्राथमिकतामा राख्दै आएका थियौँ। सुरुमा जसरी समदूरीका कुराहरू गर्दै सबैलाई एकनास रूपमा लिइयो, त्यसमा कूटनीतिक संवेदनशीलता र गम्भीरताको बुझाइ अलि अपुग भएको जस्तो देखिन्थ्यो,” उनले थपे।
दक्षिण एसियाली क्षेत्रमा शक्ति राष्ट्रहरूको चासो बढिरहेका बेला, विशेष गरी नेपालमा चिनियाँ प्रभाव र अमेरिकी नीतिगत प्राथमिकताहरूबिच सन्तुलन मिलाउनुपर्ने चुनौती नयाँ सरकारसामु रहेको छ। यस्तो पृष्ठभूमिमा छिमेकी देशका राजदूतहरूसँगको यो एकल संवादलाई कूटनीतिक सन्तुलन मिलाउने प्रयासका रूपमा हेरिएको छ। bbc












