काठमाडौँ–
सुनसरीको देवानगञ्ज घटनाका मृतकहरूलाई तत्काल शहीद घोषणा गर्न तथा पीडित परिवारसँग सरकारले गरेको लिखित सम्झौता पूर्ण रूपमा कार्यान्वयन गर्न राजनीतिक दलका शीर्ष नेता एवं स्थानीय जनप्रतिनिधिहरूले माग गरेका छन्।
सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले सरकारले पीडित परिवारसँग गरेको सम्झौता पालनामा ढिलासुस्ती गरेको भन्दै कडा असन्तुष्टि जनाएका छन्। सम्झौता कार्यान्वयनमा भइरहेको ढिलाइले सर्वसाधारणमा आक्रोश बढ्दै गएको र यसले थप गम्भीर परिस्थिति निम्त्याउन सक्ने उनीहरूको चेतावनी छ।
सरकार र पीडित पक्षबिच देवानगञ्ज घटनाका मृतकहरूलाई शहीद घोषणा गर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्ने र सात दिनभित्र निष्पक्ष छानबिन प्रक्रिया अघि बढाउने लिखित सहमति भएको थियो। तर, लामो समय बितिसक्दा पनि मन्त्रिपरिषद्बाट सो सम्बन्धमा कुनै निर्णय हुन नसकेको विज्ञप्तिमा उल्लेख छ।
उपचारका क्रममा निधन भएका रविन्द्र मेहताको शव विगत एक सातादेखि अन्त्येष्टि हुन नसकेको विषयप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेताहरूले यसलाई अत्यन्तै दुःखद घटना भनेका छन्।
संयुक्त विज्ञप्तिमा देवानगञ्जका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, सिरहा गोलबजारका गणेश यादव तथा रविन्द्र मेहतालाई तत्काल शहीद घोषणा गर्न माग गरिएको छ। साथै, घोषित राहत, क्षतिपूर्ति र रोजगारीको व्यवस्था यथाशीघ्र कार्यान्वयन गर्न र घटनाका दोषीहरूमाथि कडा कानुनी कारबाही गर्न आग्रह गरिएको छ।
मागहरू तत्काल सम्बोधन नभए कडा र सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिइएको उक्त संयुक्त विज्ञप्तिमा नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, समिम मिया अंसारी, बेचन प्रसाद मेहता र हरिनन्दन मेहताले हस्ताक्षर गरेका छन्।











