वीरगन्ज–
सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय हितसँग सम्बन्धित विभिन्न विषयहरू समेटेर सरकारसमक्ष ३७ बुँदे ज्ञापन-पत्र बुझाएको छ। मोर्चाले मंगलबार देशका दुई दर्जनभन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो) मार्फत सम्माननीय प्रधानमन्त्रीसमक्ष उक्त ज्ञापन-पत्र पेस गरेको हो।
पर्सा, बारा, कैलाली, महोत्तरी, रौतहट लगायतका जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन-पत्र बुझाइएको मोर्चाले जनाएको छ।
के-के छन् मुख्य मागहरू?
ज्ञापन-पत्रमा सनातन हिन्दू राष्ट्र नेपाल कायम गर्न आवश्यक संवैधानिक तथा कानुनी पहल गर्नुपर्ने, धार्मिक तथा ऐतिहासिक तीर्थस्थलको सुरक्षा हुनुपर्ने र धार्मिक आस्थामाथि हुने अपमान वा भड्काउने गतिविधिमाथि कडा कानुनी कारबाही हुनुपर्ने माग गरिएको छ।
यसैगरी मोर्चाले अघि सारेका मुख्य मागहरू निम्न बमोजिम छन्:
- धर्म परिवर्तन र गौहत्या नियन्त्रण: गैरकानुनी धर्म परिवर्तन, गौहत्या तथा गाई-गोरुको अवैध ओसारपसार नियन्त्रण गरिनुपर्ने।
- अन्तरधार्मिक विवाहमा रोक: अन्तरधार्मिक वैवाहिक कार्यक्रम पूर्ण रूपमा बन्द गर्ने निर्णय लागू गर्नुपर्ने र विदेशी गैरसरकारी संस्था (आईएनजीओ) माथि कडा नीति अवलम्बन गर्नुपर्ने।
- शिक्षा र संस्कृतिको संरक्षण: विद्यालय तथा कलेज तहमा संस्कृत पाठ्यक्रम पुनः सञ्चालन गरिनुपर्ने, गुरुकुल शिक्षा र गौसेवा केन्द्रको विस्तार गरिनुपर्ने तथा मठ-मन्दिरका अतिक्रमित जग्गा फिर्ता गरिनुपर्ने।
- रोजगारी र सुशासन: बन्द उद्योग सञ्चालन गरी युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने र कमजोर आर्थिक अवस्था भएका नागरिकका लागि नि:शुल्क उपचारको व्यवस्था हुनुपर्ने।
- सद्भाव र एकता: हिमाल, पहाड, तराई तथा मधेसका नागरिकबीच राष्ट्रिय एकता कायम गर्न सामूहिक पूजापाठ र हवनजस्ता कार्यक्रम सञ्चालन गरिनुपर्ने।
प्रमुख जिल्ला अधिकारीहरूमार्फत ध्यानाकर्षण
सनातन हिन्दू मोर्चा पर्साका अध्यक्ष हनुमान् दासको नेतृत्वमा गएको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापन-पत्र बुझाएको थियो। उक्त टोलीमा मोर्चाका केन्द्रीय संयोजक संतोशानन्द महाराज, केन्द्रीय कोषाध्यक्ष अधिवक्ता विनोद प्रसाद कुर्मी, केन्द्रीय सदस्यहरू डा. ऋषि आचार्य, उषा श्रीवास्तव, जोगिन्द्र प्रसाद कलवार लगायतका अगुवाहरूको सहभागिता रहेको थियो।
यसैगरी, बारामा जिल्ला अध्यक्ष गोपाल दासको नेतृत्वमा गएको टोलीले बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ज्ञापन-पत्र हस्तान्तरण गरेको छ।
मोर्चाका केन्द्रीय संयोजक संतोशानन्द महाराजका अनुसार यी ३७ बुँदे मागहरू राष्ट्रिय पहिचान, नागरिक सुरक्षा, सुशासन र समृद्धिसँग जोडिएकाले सरकारले गम्भीरतापूर्वक अध्ययन गरी कानुनी तथा नीतिगत प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिइएको छ।












