रोल्पा-
लगातारको वर्षापछि गएको पहिरोले रोल्पाको थबाङ गाउँपालिका–५, बोटलबारामा ठूलो मानवीय क्षति पुर्याएको छ। पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ भने नौ जना अझै बेपत्ता छन्। विकट भौगोलिक अवस्थाका कारण घटनास्थलमा उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको छ।
अविरल वर्षाका कारण माथिबाट खसेको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब छवटा घर तथा गोठ पुरेको थियो। पहिरोमा परेर १८ वर्षीया शान्ती पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको थियो। उद्धारका क्रममा बिहीबार बिहान ७१ वर्षीया मनरखी पुन मगरको शवसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
पहिरोमा परेका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरलाई उद्धार गरिएको छ। दुवै जना गम्भीर घाइते रहेकाले थप उपचारका लागि पठाउने पहल भइरहेको प्रहरीले जनाएको छ।
नौ जना अझै बेपत्ता
प्रहरीका अनुसार पहिरोमा परी नौ जना अझै बेपत्ता छन्। बेपत्ता हुनेमा जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला रोका मगर रहेका छन्।
बेपत्ताको खोजीका लागि बिहीबार बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी र स्थानीयवासी परिचालन गरिएको छ। घटनास्थलको भौगोलिक विकटता, लगातारको वर्षा र पहिरो थप खस्न सक्ने जोखिमका कारण उद्धार टोलीले कठिन परिस्थितिमा खोजी कार्य अघि बढाइरहेको छ।
बहु सुरक्षा निकाय उद्धारमा
प्रमुख जिल्ला अधिकारीको समन्वयमा जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको कमान्डमा विपद् उद्धार सामग्रीसहितको टोली घटनास्थलमा खटिएको छ।
त्यस्तै, नेपाली सेनाको श्री सूर्यदल गण रोल्पाबाट प्रमुख सेनानी दीपेश खड्काको कमान्डमा टोली तथा सशस्त्र प्रहरी बल आश्रित गुल्म रोल्पाबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमान्डमा टोली उद्धारमा परिचालन गरिएको छ। इलाका प्रहरी कार्यालय थबाङबाट प्रहरी निरीक्षक रामचन्द्र बगालेको कमान्डमा प्रहरी टोलीसमेत घटनास्थलमा खोजी तथा उद्धारमा सक्रिय छ।
लगातारको वर्षाका कारण पहिरो थप खस्न सक्ने सम्भावना रहेकाले उद्धार टोली उच्च जोखिममा काम गरिरहेको छ। जोखिमबीच पनि सुरक्षाकर्मी र स्थानीयवासीले बेपत्ताहरूको खोजीलाई प्राथमिकतामा राखेर उद्धार कार्य जारी राखेका छन्।
उद्धार टोलीले पहिरोमा पुरिएका संरचना र आसपासका क्षेत्रमा केन्द्रित भएर बेपत्ताको खोजी गरिरहेको छ। थप पहिरोको जोखिम र प्रतिकूल मौसमका कारण खोजी कार्यमा कठिनाइ भए पनि उद्धार अभियानलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।











