२०८३ श्रावण २९ गते, शुक्रबार २०:४८

खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त

कैलाली –

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन्।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। भट्ट सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्री बनेका छन्।

सत्ता समीकरणमा आएको परिवर्तनसँगै यसअघिका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि भट्ट नयाँ मुख्यमन्त्री नियुक्त भएका हुन्।

सुदूरपश्चिम प्रदेशसभाको पहिलो कार्यकालमा तत्कालीन नेकपा (माओवादी केन्द्र)का नेता त्रिलोचन भट्टले पाँचै वर्ष मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। प्रदेशसभाको दोस्रो कार्यकालमा भने खगराज भट्टसहित पाँचजना मुख्यमन्त्री भएका छन्।

दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्रीका रूपमा नेकपा (एमाले)का राजेन्द्रसिंह रावल नियुक्त भएका थिए। उनले २०७९ पुस २८ देखि सोही वर्षको माघ २६ गतेसम्म मुख्यमन्त्रीको जिम्मेवारी सम्हाले।

त्यसपछि नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कमलबहादुर शाह २०७९ माघ २७ गते मुख्यमन्त्री बनेका थिए। उनले २०८१ वैशाख ५ गतेसम्म जिम्मेवारी सम्हाले।

त्यसपछि नेकपा (एकीकृत समाजवादी)का दीर्घबहादुर सोडारी २०८१ वैशाख ६ गते मुख्यमन्त्री बनेका थिए। उनले सोही वर्षको साउन २० गतेसम्म सरकारको नेतृत्व गरे।

त्यसपछि नेपाली कांग्रेसका कमलबहादुर शाह दोस्रोपटक मुख्यमन्त्री बनेका थिए। उनी पहिलो कार्यकालमा एक वर्ष चार महिना आठ दिन र दोस्रो कार्यकालमा दुई वर्ष आठ दिन मुख्यमन्त्री बने। सत्ता समीकरणमा परिवर्तन भएपछि शाहले बिहीबार पदबाट राजीनामा दिएका हुन्।

हाल ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेकपाका २२, नेकपा (एमाले)का ११ र नेपाली कांग्रेसका १८ प्रदेशसभा सदस्य छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक जना सदस्य छन्। एक जना प्रदेशसभा सदस्यले राजीनामा दिएपछि प्रदेशसभामा हाल ५२ जना सदस्य कायम छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस