वीरगन्ज-
पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१४ श्रीपुरमा अनुमतिबिनै औषधि उत्पादन गरेको आरोपमा एक उद्योग सञ्चालकलाई पक्राउ गरेको छ ।
प्रहरीले आर.पी. फर्मास्युटिकल प्रालिका सञ्चालक राहुलकुमार चौहानलाई पक्राउ गरेको हो । उद्योगमा गरिएको अनुगमनका क्रममा सम्बन्धित निकायबाट अनुमति नलिई औषधि उत्पादन भइरहेको र उत्पादन गरिएका औषधिका लेबलसमेत फेला परेपछि चौहानलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार प्रहरी नायब निरीक्षक राजु कार्कीको नेतृत्वमा गएको टोलीले उद्योगमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा अनुमति नलिई औषधि उत्पादन भइरहेको पाइएपछि उद्योगमा सिलबन्दी गरी सञ्चालक चौहानलाई पक्राउ गरिएको हो ।
अनुगमन टोलीमा औषधि व्यवस्था विभागका निरीक्षक मुकेशकुमार राउत, रवि चौधरी र अमर शर्मा तथा घरेलु तथा साना उद्योग कार्यालय वीरगन्जका कर्मचारी सहभागी थिए ।
पक्राउ परेका चौहानलाई थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय श्रीपुरमा राखिएको प्रहरीले जनाएको छ ।












